गृहपृष्ठ आम्दानीको स्रोत बन्दै भटमास खेती
आम्दानीको स्रोत बन्दै भटमास खेती
भोजपुर । भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका-५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताए । थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको भनाइ छ ।
“भटमासखेतीको अर्को मुख्य विशेषता भनेको यसलाई अन्य मुख्य बालीसँगै लगाउन सकिन्छ । सुन्तलाका बगैँचा, मकैबारी, खेतको आली तथा अन्य फलफूलका बोटहरूका बीचमा रहेको खाली जमिन सदुपयोग गरी भटमास रोप्न सकिन्छ”, थापाले भने ।
एकातिर खाली जमिनको सही सदुपयोग भई अतिरिक्त आम्दानी दिनुका साथै भटमासको बोटले माटोमा नाइट्रोजन स्थिर गरी उर्वराशक्ति बढाउनसमेत सहयोग पुर्याउने कृषि विज्ञहरू बताउँछन् ।
किसान भीमप्रसाद फुयाँलका अनुसार बजारमा भटमासको हरियो कोसाको माग दिनप्रतिदिन बढ्दो छ । पोषणयुक्त र स्वादिष्ट मानिने भएकाले उपभोक्ताले हरियो कोसालाई निकै रुचाउने गरेका उनको अनुभव छ । “बजारमा पुर्याउना साथ सजिलै बिक्री हुने भएकाले किसानलाई बिक्रीका लागि बजारको कुनै समस्या छैन । हरियो कोसालाई उसिनेर खान तथा तरकारीका रूपमा पनि प्रयोग गर्न उपभोक्ताले खरिद गर्दछन्”, उनले भने ।
मुख्य बालीको बीचमा खाली रहेको जमिनमा रोप्दा अतिरिक्त आम्दानी लिन सकिने भएपछि भटमासखेती भोजपुरका ग्रामीण भेगका किसानहरूका लागि जीविकोपार्जन र आर्थिक उपार्जनको दरिलो माध्यम बन्दै गएको छ ।
प्रकाशित समय : १३:५९ बजे


















