गृहपृष्ठ बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
सुनसरी । बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन ।
दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर ५० हजार लगानीमा कृषि पेसा सुरु गरेको उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन ।
पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भने,
“नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ ।”
अहिले दैनिक तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उनले बताए । करिब अढाई बिघामा गोलभेँडा खेती गरेको उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसम अनुसारका तरकारी खेती गरेका छन ।
मौसमले साथ दिँदा उत्पादन राम्रो हुने र सिँचाइको उचित व्यवस्थापन हुन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।
नेपाल फर्किएर कृषि सुरु गरेँ । अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको छ, उनले भने, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”
आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उनले बताए । “गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु, बाँकी बिरुवा आफैँ उत्पादन गर्छु । अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु”, उनले भने ।
उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था छैन, चन्द्रवंशी बताउछन । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उनको भनाइ छ ।
उनको खेतीमा वर्षभरि जालादारीमा १२ जनाभन्दा बढी कामदार छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक १८ हजारदेखि २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उनले जानकारी दिए। “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु”, उनले भने ।
तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिघा क्षेत्रफलमा मकै खेतीसमेत गर्दै आएका छन । मकै बिक्रीबाट वार्षिक चार लाखसम्म आम्दानी हुने उनले जानकारी दिए । कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गरेका छन ।
गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि । उनले भने, चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आएको सप्तरीका राजकुमार भन्छन, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु । विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ । यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर ४०–५० हजार कमाए पनि आफैँलाई खर्च पु-याउन गाह्रो हुन्छ । नेपालमा १५–२० हजार कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ”, उनले भने ।
प्रकाशित समय : १२:२३ बजे


















