गृहपृष्ठ मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै
मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ।
घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलन गाउँपालिकाको आयोजनामा हुन लागेको हो। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन आयोजना गरिने जानकारी दिए ।
सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षणकर्मी, विज्ञ, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष लालचनले बताए ।
हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीका मुहान सुक्दै जानु, हिमताल तथा हिमपहिरोको जोखिम, बाढीपहिरो र कृषि प्रणालीमा परेको प्रभावजस्ता विषय सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्।
जलवायु परिवर्तनका कारण मुस्ताङको परम्परागत कृषि, पशुपालन, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पर्न थालेको छ। यस्ता चुनौती सामना गर्न स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताउँदै आएका छन्।
सम्मेलनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन योजना निर्माण, वातावरणमैत्री विकास तथा हिमाली समुदायको संरक्षणका विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १६:४९ बजे


















