गृहपृष्ठ प्रतिनिधिसभाः बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
प्रतिनिधिसभाः बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशीबाढीबाट प्रभावित जिल्लाका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ‘होल्डिङ सेन्टर’ मा रहेका महिला तथा बालबालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नको लागि माग गरे ।
सांसद अर्जुननरसिंह केसी बाढीग्रस्त रसुवा र नुवाकोटको होल्डिङकक्षमा राखिएका महिला र बालबालिकाको अवस्था दयनीय भएकाले पीडितहरूलाई यथाशीघ्र व्यवस्थित ढङ्गले ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन माग गरे । उनिहरूको उचित खाना र सुरक्षाको प्रबन्ध मिलाउन सांसद केसीले आग्रह गरे ।
अनुष्का श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव नेपालमा बारम्बार देखापरेकाले पनि अन्तरराष्ट्रिय मञ्चमा जोडदार माग गरिन । त्यसैगरी सांसद आनन्दबहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिन माग गरे ।
सांसद अफ्साना बानुले विपक्षी राजनीतिक दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई अपशब्द बोल्ने गरेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराइन। सांसद अभिषेकप्रताप शाहले तराई/मधेसका जिल्ला विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बताए ।
सांसद विक कुनै पनि विपद्को घटना बाजा बजाएर नआउने भएकाले विपद्मा आधारभूत ज्यान जोगाउने विषयमा विद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने बताए ।
सांसद अम्बिकादेवि संग्रौला मुलुक विपद्सँग जुधिरहेको बेला मुलुकमा ग्याँसको सङ्कटको कारणले सर्वसाधारणले सास्ती भोग्नुपरेको बताइन । सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्याको अन्त्य गर्न सरकारसँग माग गरिन ।
सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउनको लागि माग गरिन ।
सांसद यशोदा बरालले महिला र बालबालिकामाथि पछिल्लो समय साइबरबुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गरिन । सांसद ओजश्वी शेरचनले बाढीप्रभावित क्षेत्रमा रहेका अस्पतालमा शल्यक्रिया गर्ने बेला जेनेरेटरमा इन्धनसमेत अभाव रहेको बताइन ।
सांसद अङ्किता ठाकुर चाडपर्व नजिकिँदै गइरहेको बेला ग्यास र खाद्यान्न अभावलाई तत्कालै सम्बोधन गर्न माग गरिन । सांसद कमल सुवेदी सरकारी तथ्याङ्कले ग्यासको आपूर्ति बढेको देखाए पनि जनताले ग्यास नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन ।
सांसद करिश्मा कठरियाले ग्रामीण महिलाको समस्यालाई नजरअन्दाज गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताइन । सांसद कविन्द्र बुर्लाकोटीले देशभर सडक खनिएता पनि सडकको मालपोत कर जनताले तिर्दै आइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराइन।
सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निःशुल्क हुनुपर्नेमा जोड दिइन। सांसद कुलभक्त शाक्यले भोटेकोशी ग्यास वितरणमा प्रणालीमा कमीकमजोरी देखिएकाले वैकल्पिक व्यवस्थापन गर्न माग गरिन ।
सांसद कालीबहादुर सहकारीले भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको लागि उद्धार र राहतसँगै मनोपरामर्शको आवश्यता रहेको बताए । सांसद कृपा महर्जन विद्युत्को नियमित आपूर्ति नहुँदा बाढीप्रभावित क्षेत्रमा समस्या भोग्नुपरेको बताए ।
प्रकाशित समय : १५:०९ बजे


















