गृहपृष्ठ किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
‘बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ।’ गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका थिए।
बुबालाई डसेको सर्प त्यहीँ थियो। राजेश अस्पतालतर्फ लागे, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहे।
त्यो राजेशले उद्धार गर्न लागेको १४औँ किङ कोब्रा थियो। यसअघि १३ वटा किङ कोब्रा सुरक्षित उद्धार गरिसकेका उनी करिब ११–१२ फिट लामो अनुमान गरिएको उक्त सर्पलाई नियन्त्रणमा लिने प्रयासमा थिए।
ठाउँ अप्ठ्यारो थियो। सर्पलाई सुरक्षित नियन्त्रणमा लिने प्रयास भइरहेका बेला त्यसले उहाँको घुँडाभन्दा माथि तिघ्रामा डस्यो। ‘त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो’, त्यो क्षण सम्झँदै राजेशले भने।
सर्पले डसेपछि उनलाई तत्काल अस्पताल लैजाने तयारी भयो। आफू अस्पतालतर्फ लाग्दै गर्दा पनि उनको ध्यान आफूलाई डसेको सर्प र घटनास्थलमा रहेका मानिसतर्फ थियो।
छोरालाई सर्प सुरक्षित उद्धार गरेर मात्रै अस्पताल आउन भने र आफू अरूको सहयोगमा हेटौँडातर्फ लागे। अस्पताल पुग्दै गर्दा राजेशको मनमा भने अनेक कुरा खेलिरहेका थिए।
सर्पदंशका घटनामा अरूलाई नआत्तिन र तत्काल अस्पताल जान सचेत गराउँदै आएका उनी यसपटक आफैँ सर्पदंशको बिरामी थिए। ‘अब जीवन रहन्छ, रहँदैन भन्ने कुरा मनमा आएको थियो’, उनले भने।
बुबा अस्पतालतर्फ लागेपछि रोशनका लागि देउडी डाँडामा बितेका करिब २० मिनेट निकै कठिन बने। बुबाको अवस्था के हुन्छ भन्ने थाहा थिएन। अर्कोतर्फ बुबालाई डसेकै किङ कोब्रा नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी उनीसँग थियो।
रोशनले भने, ‘मुटुको धड्कन बढिरहेको थियो, हातखुट्टा लगलग कामिरहेका थिए।’ त्यसबेला रोशनका अगाडि छोराको भावना र उद्धारकर्ताको जिम्मेवारी दुवै थिए। ‘त्यो बेला छोरा हुनुभन्दा पनि पहिला म रेस्क्युअर हुँ भनेर मैले स्वीकार गरेँ’, उनले भने।
आफूलाई सम्हालेर करिब २० मिनेटको प्रयासपछि रोशनले अन्ततः बुबालाई डसेको किङ कोब्रा सुरक्षित उद्धार गरे।
त्यसपछि त्यहाँ रहेका स्थानीयलाई सर्प नमार्न आग्रह गर्दै उहाँ बुबालाई भेट्न अस्पतालतर्फ लागे। राजेश भने सर्पले डसेको करिब ४० मिनेटमा हेटौँडा अस्पताल पुगेका थिए। अस्पताल पुग्दासम्म उपचारका लागि आवश्यक तयारी भइसकेको उनले बताए।
उपचारमा संलग्न डा हरि खड्काका अनुसार अस्पताल आइपुग्दासम्म राजेशमा सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी आउने र रक्तचापमा उतारचढाव हुनेलगायत प्रारम्भिक लक्षण देखिन थालिसकेका थिए।
‘अझ ढिलो भएको भए अवस्था गम्भीर हुन सक्थ्यो’, डा खड्काले भने, ‘समयमै अस्पताल आइपुग्नु र चिकित्सक टोलीले तत्काल उपचार सुरु गर्नुले उहाँ गम्भीर अवस्थामा पुग्नबाट जोगिनुभयो।’
अस्पतालको आकस्मिक कक्षमा तत्काल दुई भाइल एन्टीस्नेक भेनम दिएपछि राजेशलाई सघन उपचार कक्षमा लगिएको थियो।
त्यहाँ थप १० भाइल एन्टीस्नेक भेनम दिइएपछि सर्पदंशका लक्षण क्रमशः कम हुँदै गए। सर्पदंशका प्रारम्भिक लक्षण नियन्त्रणमा आए पनि डसेको ठाउँको घाउले भने उनलाई केही समय छाडेन।
घाउ निको हुन समय लागेपछि करिब दुई महिनासम्म उहाँ पहिलेजसरी सर्प उद्धारमा निस्कन सकेनन् तर फोन आउन छाडेका थिएनन्।
कतै घरभित्र सर्प पसेको खबर आउँथ्यो, कतै विषालु सर्प देखिएको भन्दै उद्धारका लागि बोलाइन्थ्यो। शरीरले जान नदिए पनि मन भने घटनास्थलमै पुग्थ्यो।
निको हुँदै गएपछि उनी फेरि सर्प उद्धारमा निस्कन थाले। आफूलाई डसेको किङ कोब्रासँग फेरि कहिले सामना होला भन्ने उनलाई थाहा थिएन।
त्यसको करिब तीन महिनापछि भदौ १८ गते बिहान मकवानपुरको बकैया गाउँपालिका–३ देउराली चिसापानीबाट उनको फोनमा फेरि किङ कोब्रा देखिएको खबर आयो।
सुरुमा उनले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न र सर्पलाई जङ्गलतर्फ जान दिन आग्रह गरे। तर सर्प बस्ती आसपासमै रहेपछि उद्धारका लागि पटकपटक आग्रह आयो।
जेठमा किङ कोब्राको डसाइ खेपेका राजेश यसपटक पनि पछि हटेनन्। छोरा रोशनलाई लिएर फेरि किङ कोब्रा उद्धार गर्न निस्कए। डिभिजन वन कार्यालय मकवानपुर र सव–डिभिजन वन कार्यालय हात्तीसुँडेसँग समन्वय गरेर बाबुछोरा देउराली चिसापानी पुगे।
‘फेरि किङ कोब्रा आएको खबर सुन्दा मलाई डरभन्दा खुसी लाग्यो’, राजेशले भने, ‘त्यो घटनाबाट बाँचेर आएपछि फेरि किङ कोब्रा बचाउने अवसर मिल्यो भन्ने लाग्यो।’
बस्ती नजिक रहेको करिब साढे सात फिट लामो अनुमान गरिएको किङ कोब्रालाई बाबुछोराले सुरक्षित उद्धार गरे। राजेशका अनुसार त्यो उनले उद्धार गरेको १५औँ किङ कोब्रा थियो।
१४औँ उद्धारका क्रममा उनी आफैँ डसिएका थिए र त्यसको उद्धार रोशनले पूरा गरेका थिए। राजेशको सर्पसँगको यात्रा करिब चार वर्षअघि सुरु भएको हो।
पेसाले पत्रकार उनी सर्प उद्धारकर्ता बन्ने योजनासहित यस क्षेत्रमा आएका थिएनन्। सर्पसम्बन्धी अध्ययन र सचेतनामूलक सामग्री तयार गर्ने क्रममा चासो बढ्दै गएपछि उनले यसबारे थप सिक्न थाले।
सर्पसम्बन्धी अध्येता तथा जानकारसँगको सिकाइ र आफ्नै अध्ययनपछि उनी उद्धारमा जोडिएका हुन्। त्यसक्रममा रोशन पनि बुबासँगै जोडिए।
सुरुमा सर्पसम्बन्धी सचेतनामूलक सामग्री बनाउने बाबुछोरालाई घरमा सर्प देखिएपछि मानिसले सहयोगका लागि फोन गर्न थाले। अहिले उनीहरू मकवानपुरसँगै बारा र पर्साका विभिन्न स्थानसम्म सर्प उद्धारका लागि पुग्ने गर्छन्।
राजेशका अनुसार चार वर्षको अवधिमा उनले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गरे। उद्धार गरिएका सर्पलाई सम्बन्धित वन निकायसँग समन्वय गरी मानव बस्तीबाट टाढा उपयुक्त प्राकृतिक क्षेत्रमा छाड्ने गरिएको उनी बताउछन्। यसका लागि कुनै सरकारी वा निजी संस्थाबाट नियमित तलब वा भत्ता नलिएको उनको भनाइ छ।
प्रकाशित समय : १२:३५ बजे


















