गृहपृष्ठ राहत रकम दाखिला गर्ने दाताहरु बढ्दै

राहत रकम दाखिला गर्ने दाताहरु बढ्दै

राहत रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरुको सङ्या बढ्दै गएको छ ।

काठमाडौं-नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले अर्थमन्त्री डा वाग्लेमार्फत ५० लाख प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा जम्मा गरेको छ । उक्त रकम नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले आज अर्थमन्त्रीलाई प्रदान गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यद्धय यमुना श्रेष्ठ र हेमन्त गोल्छा, कार्यकारी निर्देशक राजकुमार दुलाललगायतको सहभागिता थियो । नेपाल भलिबल लिग (एनभिएल) ले पहिलो दिनको टिकट बिक्रीबाट जम्मा भएको पाँच लाख ९० हजार १५० राहत कोषमा दाखिला गरेको छ ।

भोजपुरः हतुवागढी गाउँपालिकाले २४ लाख ५३ हजार ५०४ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य कर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

चितवनः कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले ४६ लाख राहत कोषम जम्मा गरेका छन् । पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीको मासिक तलबबाट सङ्कलन गरी जम्मा गरिएको इच्छाकामना गाउँपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका परिवारको खोजीका लागि थप जनही २५ हजार सहयोग गर्नेभएको छ । पालिकाले आफ्नो पालिकामा स्थायी बसोबास भई भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएकाको खोजीका लागि सहयोग गर्न लागेको हो ।

चितवनका ७५० कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित १२५ परिवारलाई तीन लाख ६७ हजार ३६ बराबरको बन्दो बस्तीका सामान खरिद गरी सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिषरभित्र बन्दीहरुले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । उहाँहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, ब्रस, मञ्जन र काहियो उपलब्ध गराएका छन् ।

वीरगञ्जः पर्सा जिल्लाका दुई मेडिकल कलेजले संयुक्त रुपमा ७५ लाख राहत कोषमा दाखिला गरेका छन् । नेशनल मेडिकल कलेज वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौँले उक्त रकम जम्मा गरेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए।

वीरगञ्ज सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफले दुई लाख ५१ हजार राहत कोषमा दाखिला गरेका छन् । साउथ जोन माध्यमिक विद्यालयले एक लाख ५५ हजार ५५३ कोषमा जम्मा गरेका छन् । उक्त रकम सो विद्यालयमा पढ्ने विद्यार्थी, अभिभावक तथा कर्मचारी एवं शिक्षकको स्वेच्छिक सहयोगबाट सङ्कलन गरिएको हो ।

यहाँका विभिन्न क्लबले जम्मा गरेका ९५ हजार ७८३ कोषमा जम्मा गरिएको छ ।

हुम्लाः बाढीपीडितको राहतका लागि हेड नेपाल, हुम्लाले ५१ हजार १११ राहत कोषमा दाखिला गरेको हेड नेपाल, हुम्लाका प्रमुख छिटुप लामाले बताए । उक्त रकम जिल्ला प्रशासन कार्यालय, हुम्लामार्फत औपचारिक रूपमा कोषमा हस्तान्तरण गरिएको हो ।

बागलुङः काठेखोला गाउँपालिकाको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख एक हजार २७५ कोषमा दाखिला भएको छ । बिहुँकोट अन्तरराष्ट्रिय समाज, बिहुँकोटले पाँच लाख तथा काठेखोला गाउँपालिका–२ भीमापोखराका जनप्रतिनिधि, स्थानीय आमा समूह, वन उपभोक्ता समिति, सामुदायिक समूह तथा समाजसेवीबाट एक लाख एक हजार २७५ गरी कूल छ लाख एक हजार २७५ कोषमा दाखिला गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु