गृहपृष्ठ सेफ सापकोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
सेफ सापकोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
लिस्बन । पोर्चुगलमा कार्यरत चर्चित सेलिब्रिटी शेफ टंक सापकोटाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १ सय ५१ (करिब २९ हजार युरो) सहयोग प्रदान गरेका छन् ।
नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि सापकोटा परिवारले उक्त रकम प्रदान गरेको हो ।
सापकोटाले विपद्को कठिन घडीमा मातृभूमि र पीडित समुदायसँग आफ्नो परिवारले जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्मसम्मानको विषय भएको बताए । ‘हामीले जीवनबाट प्राप्त गरेको केही अंश कठिन घडीमा आफ्नो मातृभूमि र पीडामा रहेका समुदायसँग बाँड्न सक्नु हाम्रो लागि कर्तव्यमात्र होइन, मानवता, कृतज्ञता र आत्मसम्मान पनि हो,’ उनले भने ।
उनले पोर्चुगिज नागरिकहरूले वर्षौँदेखि आफू, आफ्नो परिवार, रेस्टुरेन्ट तथा व्यवसायप्रति देखाएको माया, विश्वास र सद्भावप्रति आभार व्यक्त गरे । साथै, आफ्नो यात्रासँग जोडिएका ग्राहक, मित्र, शुभेच्छुक तथा विश्वभरिका सहृदयी व्यक्तिहरूलाई पनि उनले धन्यवाद दिए ।
सापकोटाले पछिल्लो विपद्ले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असरप्रति गम्भीर प्रश्नसमेत उठाएको बताए । जलवायु परिवर्तनमा न्यून योगदान गरेका निर्दोष मानिस तथा समुदायहरू नै यसको सबैभन्दा ठूलो मारमा परिरहेको उनको भनाइ छ ।
प्रकाशित समय : ११:१४ बजे


















