गृहपृष्ठ ब्रह्माण्डका रहस्य सुल्झाउन नासाद्वारा ‘रोमन स्पेस टेलिस्कोप’ को सफल प्रक्षेपण
ब्रह्माण्डका रहस्य सुल्झाउन नासाद्वारा ‘रोमन स्पेस टेलिस्कोप’ को सफल प्रक्षेपण
वासिङ्टन डिसी । अन्तरिक्षका गूढ रहस्यहरू पत्ता लगाउने उद्देश्यका साथ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘रोमन स्पेस टेलिस्कोप’ को सफल प्रक्षेपण गरेको छ।
यो टेलिस्कोपले वैज्ञानिकहरूका लागि अझै रहस्यमा रहेका ब्रह्माण्डीय संरचना र रहस्यहरू उजागर गर्न मद्दत पुर्याउनेछ। कुनै एउटा मात्र खगोलीय पिण्डमा केन्द्रित हुनुको सट्टा अन्तरिक्षका विशाल क्षेत्रहरूको एकैसाथ सर्वेक्षण गर्न सक्ने गरी यसलाई विशेष रूपमा डिजाइन गरिएको छ।
रोमन टेलिस्कोपलाई फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेस-एक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको हो। यो प्रक्षेपण हिजाे दिउँसो करिब ४:५७ बजे मा सम्पन्न भएको थियो। हाल यो टेलिस्कोप पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको ‘सन-अर्थ ल्याग्रान्ज पोइन्ट-२’ तर्फ अघि बढिरहेको छ।
सामान्य उपग्रहहरूले जस्तै पृथ्वीको परिक्रमा नगरी यसलाई ‘सन-अर्थ एल २’ बिन्दु वरपरको एक विशिष्ट कक्षमा स्थापित गरिनेछ। उक्त बिन्दुसम्म पुग्न करिब एक महिना लाग्ने अनुमान गरिएको छ। ‘एल २’ मा पुगेपछि नासाले करिब तीन महिनासम्म सञ्चालन पूर्वको तयारी तथा प्राविधिक परीक्षणहरू गर्नेछ। यस अवधिमा टेलिस्कोपका प्रणाली र वैज्ञानिक उपकरणहरूको जाँच गरिएपछि मात्र यसले मुख्य वैज्ञानिक अभियान सुरु गर्नेछ।
रोमन टेलिस्कोपको निर्माणको इतिहास निकै रोचक छ। सुरुमा यसलाई ‘नेसनल रिकनिसन्स अफिस’ को जासुसी उपग्रह कार्यक्रमका लागि डिजाइन गरिएको थियो। तर, बजेट अभावका कारण उक्त कार्यक्रम बन्द भएपछि सन् २०१२ मा एनअारअाे ले यसलाई नासालाई हस्तान्तरण गर्यो। तत्पश्चात् नासाले यसलाई अन्तरिक्ष अन्वेषणको नयाँ उद्देश्यसहित पुनः प्रयोगमा ल्याएको हो।
हबलभन्दा १०० गुणा ठूलो दृश्य क्षमता
यस टेलिस्कोपको मुख्य विशेषता यसमा जडान गरिएको ‘वाइड फिल्ड इन्स्ट्रुमेन्ट’ (Wide Field Instrument) हो। यसको २.४ मिटरको मुख्य ऐना ‘हबल स्पेस टेलिस्कोप’ को ऐनासँग मिल्दोहुल्दो आकारको छ। यद्यपि, यसको वाइड फिल्ड प्रविधिको मद्दतले एकैपटकको तस्बिरमा यसले हबल टेलिस्कोपले भन्दा १०० गुणा ठूलो क्षेत्र अवलोकन गर्न सक्छ।
रोमन टेलिस्कोपले मुख्यगरी ‘डार्क इनर्जी’ र ‘डार्क म्याटर’ को अध्ययन गर्नेछ। यसका साथै, ग्यालेक्सी (आकाशगंगा) हरूको विकासक्रम बुझ्न र हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरूको खोजी गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ। जेम्स वेब स्पेस टेलिस्कोप विशेष खगोलीय पिण्डहरूको सूक्ष्म अध्ययनका लागि उपयोगी मानिन्छ भने रोमन टेलिस्कोपले अन्तरिक्षको विशाल भू-भागको सर्वेक्षण गरी ब्रह्माण्डसम्बन्धी धेरै जटिल प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्नेछ।
प्रकाशित समय : १२:०३ बजे


















