गृहपृष्ठ गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा नजिकिदै गरेको वर्षाको मौसमसँगै रोग उत्पन्न हुने चिन्ता व्यक्त गर्दै यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो ।
कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूका लागि डब्ल्यूएचओका प्रतिनिधि रेन्हिल्डे भ्यान डे वेड्र्टले अझै पनि उनीहरूलाई आवश्यक पर्ने न्यूनतम मात्रामा पानी उपलब्ध गराउन डब्ल्यूएचओ असमर्थ रहेको उल्लेख गर्दै पानीको गुणस्तर र प्रदूषण गाजामा प्रमुख विषय भएको जनाएका छन् ।
उनले यो अवधिमा झाडापखालाको सङ्क्रमणमा उल्लेखनीय वृद्धि भएको जनाउँदै मार्चमा २७ हजार वटा सङ्कमणका घटनाहरु दुई गुणाले बढेर गत अगस्तमा ४८ हजार भन्दा बढी पुगेको बताएका छन ।
वर्षाको मौसम र जाडो नजिकिँदै जाँदा गाजाको अधिकांश जनसङ्ख्या अत्यन्त भीडभाड भएको शिविर र अस्थायी टहराहरुमा बस्ने गरेको भ्यान डे वेर्डले बताएका छन ।
वर्षाले भीडभाडयुक्त शिविरहरूमा बाढी ल्याउने र बासिन्दाहरू सुत्ने ठाउँहरूमा ढल, फोहोर र दूषित पानी फैलाउने, पानीजन्य रोगहरूको जोखिम बढाउने भविष्यवाणी गर्दै उनले आश्रयस्थलमा फोहोर धेरै जम्मा भएको बताएका छन ।
गाजाको जीर्ण स्वास्थ्य प्रणालीले रोग प्रकोपको सामना गर्न असमर्थ रहेको कुरामा जोड दिँदै भ्यान डे वेड्र्टले आगामी वर्षाको मौसममा गाजा पट्टीमा किरा, लामखुट्टे र ब्याक्टेरियाहरू फैलिने भविष्यवाणी गरेका छन ।
उनले रोगको नियन्त्रण गर्न द्रुत रूपमा प्रयोगशालाहरूको आवश्यकता पूरा गर्नुका साथै मात्रा र गुणस्तर दुवैको सन्दर्भमा थप स्थायी आश्रय, दिगो पानी आपूर्ति र फोहोर व्यवस्थापन प्रणालीको तत्काल आवश्यकता रहेको विषयमा जोड दिएका छन ।
इजरायली कब्जाले गाजामा आवश्यक प्रयोगशाला र निदान आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसमा परीक्षणका लागि आवश्यक उपकरणहरु समावेश रहेको अधिकारीहरुले बताएका छन् ।
डब्ल्यूएचओले गाजामा माइक्रोबायोलोजिकल प्रदूषण जनवरी र अगस्टको बीचमा तीन गुणा बढेर छ हजार ७०० भन्दा बढी पुगेको पानीको नमूनाहरूको विश्लेषणले देखाएको छ भने जनवरीमा प्रदूषण ६प्रतिशत बाट बढेर अगस्टमा १८प्रतिशत भन्दा बढी पुगेको छ ।
यसले इजरायली कब्जालाई पट्टीमा व्यापक रूपमा र कुनै बाधाबिना औषधि र आवश्यक आपूर्तिको प्रवेशलाई छिटो गर्न आह्वान गरेको छ ।
प्रकाशित समय : १८:०० बजे


















