गृहपृष्ठ गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादह । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो ।

स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका तथा ट्रफी सार्वजनिक गरेको छ । ‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टोलीको सहभागिता रहने क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष उज्वल दाहालले महिला खेलाडीलाई खेलकुदमा अघि बढाउन तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक युवराज खड्काले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्टलगायत विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गौरादहमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितालाई स्थानीय महिला खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गौरादहमा महिला फुटबलको विकासको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ । प्रतियोगिताले महिला फुटबलको विकाससँगै खेलकुदमार्फत लागूऔषधविरुद्धको अभियानलाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने आयोजकको भनाई छ ।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु