गृहपृष्ठ नारायण अस्पतालवाट शिशु चोरी
नारायण अस्पतालवाट शिशु चोरी
रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी देखिने भएकी छन् । उनी रातो कुर्ता–सुरुवाल लगाएकी थिइन् ।
घटना लगत्तै प्रहरीले शिशु र शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको छ । अस्पताल परिसर तथा आसपासका सम्भावित स्थानमा समेत प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले ती महिलालाई देख्ने, उनको पहिचान वा अवस्थिति सम्बन्धमा कुनै जानकारी प्राप्त गर्ने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन आग्रह गरेको छ ।
नवजात शिशुको खोजतलासमा सहयोग गरिदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । साथै, घटनासँग सम्बन्धित थप विवरण संकलन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शङ्कास्पद महिलाबारे कुनै सूचना प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई जानकारी गराउन तथा सम्भावित स्थान, पहिचान वा गतिविधिबारे उपलब्ध सूचना प्रहरीसमक्ष पुर्याउन आग्रह गरिएको छ ।
प्रकाशित समय : १४:३२ बजे


















