गृहपृष्ठ जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात
जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात
जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिए ।
अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चालम बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीको भनाइ छ ।
अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ ।
खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा एक हजार ४००, अरुवा सोना मन्सुली एक हजार ४२५, मध्यम चामल एक हजार ४५० र स्टिम जिरा चामलको दुई हजार १७५ मूल्य तोकेको छ ।
खाद्य कम्पनीबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।
प्रकाशित समय : ११:०८ बजे


















