गृहपृष्ठ चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ।

शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो।

चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको व्यवस्थापन भइसकेको छ भने बाँकी शवहरू गाड्ने काम आज पुनः जारी रहनेछ।

चितवनमा शनिबारसम्म बाढीले बगाएर ल्याएका कुल २५९ जनाको शव फेला परेको छ। फेला परेकामध्ये ९ जनाको मात्र आफन्तले पहिचान गरी बुझिलिएका छन् भने बाँकी शवहरूको पहिचान खुल्न सकेको छैन।

प्रशासनले पछि पहिचान गर्न सहज हुने गरी अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर शवहरूको व्यवस्थापन गरिएको जनाएको छ। गाड्नु अघि नै सबै शवको डिएनए नमुना संकलन गरिएको छ। त्यसपछि शवमा नष्ट नहुने किसिमको संकेत नम्बर अंकित गरी गाडिएको छ भने पछि आफन्तको डिएनए परीक्षण रिपोर्ट मिल्दा पहिचान गर्न सजिलो होस् भनेर शव पुरिएको बाहिरी भागमा पनि सोही संकेत नम्बर राखिएको छ।

प्रकाशित समय : १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु