गृहपृष्ठ मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर
मिक्लाजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर राति १० बजेतिर सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा परेर ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी घर भएका २६ वर्षीय शुक्र दमाईको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दमाईलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ आइतबार बिहानका राति १२ः३५ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरका सहचालक पाँचथरको मिक्लाजुङ–७ एकरातेका २१ वर्षीय किरण राई गम्भीर घाइते भएका छन् । उर्लाबारीमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ । दुर्घटनाको कारण पत्ता लाग्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १०:३५ बजे


















