गृहपृष्ठ भोटेकोशी बाढीले एनआईसी एसियाका तीन शाखा बगायो, कर्मचारी सबै सुरक्षित
भोटेकोशी बाढीले एनआईसी एसियाका तीन शाखा बगायो, कर्मचारी सबै सुरक्षित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले एनआईसी एसिया बैंकका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बैंकका अनुसार बाढीले रसुवाको स्याफ्रुबेँसी र नुवाकोटको बेत्रावतीस्थित शाखा कार्यालय रहेको भवन नै बगाएको छ। यस्तै, त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएर माटोले पुरिएको छ।
शाखा कार्यालयहरूमा ठूलो क्षति भएपछि अर्को व्यवस्था नभएसम्म ती कार्यालय बन्द रहने बैंकले जनाएको छ। शाखा बन्द रहे पनि ग्राहकलाई उपलब्ध गराउन सकिने बैंकिङ सेवा वैकल्पिक माध्यमबाट निरन्तरता दिने तयारी भइरहेको बैंकले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत बैंकका सबै कर्मचारी भने सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ। आवश्यक परे कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको छ।
अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति बैंकले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
प्रकाशित समय : १५:०३ बजे


















