गृहपृष्ठ बाढीपछि एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग संघको आग्रह

बाढीपछि एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग संघको आग्रह

बाढीपछि एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग संघको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि एलपी ग्यास उद्योग संघ नेपालले प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारसँग आग्रह गरेको छ।

संघले बुधबार आएको भीषण बाढीबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको, केही बेपत्ता भएको तथा सर्वसाधारणका घर, व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना र यातायातका साधनमा क्षति पुगेको जनाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संघले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै खाद्यान्न, औषधि, खानेपानीलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न संघले सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।

राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ। संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई समेत आह्वान गरेको छ।

यसैबीच, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या आउन नदिन सम्बन्धित एलपी ग्यास उद्योगी, व्यवसायी तथा विक्रेतालाई आवश्यक समन्वय र सहकार्य गर्न संघले आग्रह गरेको छ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु