गृहपृष्ठ म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोगको घोषणा
म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोगको घोषणा
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
म्याक्सस नेपालले चीनस्थित एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा उक्त सहयोग घोषणा गरेको हो। भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ। उक्त रकम सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा प्रयोग गरिनेछ।
बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ। सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा बाढीबाट सबैभन्दा बढी प्रभावित र तत्काल सहयोग आवश्यक रहेका क्षेत्रमा राहत सामग्री वितरण गरिनेछ।
राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा समयतालिका सम्बन्धित निकाय र सरोकारवालासँगको समन्वयपछि तय गरिने कम्पनीले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत विवरण आवश्यक तयारी तथा समन्वय पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।
म्याक्सस नेपालले उक्त सहयोगलाई नेपाल र नेपाली जनताप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ। विपद्को कठिन समयमा प्रभावित समुदायसँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै कम्पनीले राहत तथा पुनःस्थापनाका प्रयासमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
कम्पनीले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रको सुरक्षित र शीघ्र पुनःस्थापनाको कामना गरेको छ।
म्याक्सस नेपाल हिमालय मोट्रक्स प्रालिअन्तर्गत नेपालमा एसएआईसी म्याक्ससका सवारीसाधनको आधिकारिक वितरक हो।
प्रकाशित समय : ११:२३ बजे


















