गृहपृष्ठ नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना
नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न देशका प्रधानमन्त्रीले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो दुःख व्यक्त गरेका छन् । उनिहरूले नेपालले भोगेको यस विषम परिस्थितिमा आफूहरू नेपालको साथमा रहेको पनि उल्लेख गरेका छन् ।
जापानका प्रधानमन्त्री साने ताकाइचीले आफू नेपाल–चीनबीच गएको भीषण बाढी र त्यसबाट ठूलो क्षति भएकामा दुःखी भएको उल्लेख गर्ेका छन् । उहाँले बाढीका कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले यस दुःखद अवस्थामा ऐक्यबद्धता र समवेदनाका लागि जापानी समकक्षीप्रति आभार व्यक्त गरेका छन् । उनले यस अवस्थामा प्रधानमन्त्री ताकाइचीले देखाउनुभएको ऐक्यद्धताले दुई देशबीचको बलियो मित्रता प्रतिबिम्बित गरेको बताए ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ेका छन् । उनले यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरूका परिवार तथा प्रियजनहरूले बेहोर्नुपरेको अपूरणीय क्षतिप्रति गहिरो दुःख सहानुभूति व्यक्त गर्ेका छन् । यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन पनि तयार रहेको बताएको छन् ।
प्रधानमन्त्री शाहले यस विपत्तिको सामना गरिरहेको अवस्थामा उनले व्यक्त गरेको सहानुभूति र समवेदनाका लागि बङ्गलादेश सरकार र बङ्गलादेशी जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । साथै उनले व्यक्त गर्ेको ऐक्यबद्धताले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गरेको बताएको छन् ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले नेपालको रसुवा जिल्ला र अन्य प्रभावित क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनले यस दुःखद घटनामा ज्यान गुमाउनेहरूका शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति मेरो हार्दिक समवेदना व्यक्त गर्े । “यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा दृढतापूर्वक उभिएका छन् । प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा तथा सुख–समृद्धिको लागि हामी प्रार्थना गर्दछौँ,” उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले पाकिस्तानी समकक्षी सरिफ तथा पाकिस्तानका जनताले व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गर्े । साथै इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा बुधबार भएको दुःखद घटनाबाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा आएको ठूलो बाढीबाट प्रभावित सबैप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन् । उनले प्रभावित क्षेत्रमा रहेका अष्ट्रेलियाली नागरिकले स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन तथा सल्लाह पालना गर्न अनुरोध पनि गरेका छन् । “प्रभावित क्षेत्रमा केही अष्ट्रेलियाली नागरिक रहेको हामीलाई जानकारी छ र उनीहरूको अवस्था तथा सुरक्षाबारे यथाशीघ्र पुष्टि गर्न अधिकारीहरू तत्काल काम गरिरहेका छन् । यसका लागि हामी स्थानीय अधिकारीहरू तथा भ्रमणरपर्यटन सञ्चालकहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भनेका छन् ।
प्रधानमन्त्री अल्बानिजले आफूहरू आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन तयार रहेको पनि बताउनुभएको छ । आकस्मिक कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले डिएफएटीको कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न सक्ने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले अष्ट्रेलियाका समकक्षीले व्यक्त गर्नुभएको हार्दिक समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको बताएको छन् ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी अत्यन्तै विनाशकारी रहेको उल्लेख गर्दै क्यानडाका जनताका सङ्कटमा परेका सबै, आफन्त प्रियजन गुमाएका व्यक्तिहरू तथा अझै जवाफको प्रतीक्षामा रहेका सबैको साथमा रहेको बताएको छन् । उनले भनेका छन्, “हाम्रो सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा रहेका सबै क्यानडाका नागरिकलाई यथाशीघ्र आरओसिए प्रणालीमा दर्ता हुन पनि आग्रह गर्दछ ।” उनले उद्धारका प्रयासहरू जारी रहँदा क्यानडा आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेमा छन् ।
प्रधानमन्त्री शाहले यस दुःखको घडीमा क्यानडाले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । साथै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरे ।
जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्जले नेपाल र चीनमा आएको विनाशकारी बाढीको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरे । उनले आफूहरू बाढीबाट प्रभावित पीडितहरू र उनीहरूका प्रियजनहरूसँग साथमा रहेको उल्लेख गर्दै आगामी घण्टा र दिनहरूमा स्थलमै खटिएर सहयोग गरिरहेका सबैलाई शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले आफूहरू नेपाललाई हामी सहयोग गर्न तयार रहेको पनि बताएको छन् ।
प्रधानमन्त्री शाहले जर्मनीका समकक्षी कार्नीले यस घटनाप्रति देखाएको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा नेपालप्रति व्यक्त गर्नुभएको सद्भावपूर्ण भावना र सहयोगको प्रस्तावका कदर व्यक्त गरेका छन् ।
लिथुनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभिचियुसले नेपाल र चीनमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस पीडादायी घडीमा शोकसन्तप्त परिवारहरू, प्रभावित सबै व्यक्त तथा स्थलमै खटिएर सहासपूर्वक उद्धार कार्यमा जुटिरहेका टोलीहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले लिथुनियाको विदेश मन्त्रालयमार्फत आफूहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएको छन ।
प्रधानमन्त्री वालेन्द्र शाहले लिथुआनियाका समकक्षीले व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा लिथुआनियाले व्यक्त गरेको सद्भावपूर्ण भावना तथा निरन्तर सहयोग र चासोप्रति हामी गहिरो कदर गर्दछौँ भनेका छन् ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट आफू अत्यन्तै मर्माहत भएको बताए । “मलेसिया सरकार तथा मलेसियाली जनताका तर्फबाट नेपाल र चीनका सरकार तथा जनताप्रति, साथै आफ्ना प्रियजन गुमाउनेहरू र बेपत्ता आफन्तहरूको खबरको प्रतीक्षामा रहेका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, उनले भने ।
उनले काठमाडौँस्थित मलेसियाको दूतावास प्रभावित मलेसियाली नागरिकहरूलाई सहयोग गर्न सम्बन्धित अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताएको छन् । साथै यी प्रयासहरूलाई स्थलमै थप सुदृढ गर्न ढाकास्थित मलेसियाली उच्चायोगका अधिकारीहरूलाई पनि परिचालन गरिएको बताए।
“प्रभावित मलेसियाली नागरिकहरूको अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएसम्म र उनीहरूका परिवारले आवश्यक सहयोग नपाएसम्म सरकार पूर्ण रूपमा संलग्न रहनेछ । अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका खोज तथा उद्धारमा संलग्न कर्मचारीहरूको साहस र समर्पणको म प्रशंसा गर्दछु । प्रभावित सबैप्रति हाम्रो विचार र प्रार्थना छ,” उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले मलेसियाका समकक्षीले व्यक्त गर्ेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताएको छन् ।
सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सिङ्गापुरका नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न विदेश मन्त्रालयले नेपाली र चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताएको छन् । “हाम्रो विचार नेपाल र चीनका जनताका साथै उद्धार तथा पुनःस्थापनाका प्रयासमा खटिरहेका सबैसँग छ । अझै बेपत्ता रहेकाहरू सकुशल फर्कून् भन्ने हाम्रो कामना छ,” उनले भने ।
प्रधानमन्त्री शाहले सिङ्गापुरका समकक्षीले व्यक्त गर्ेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए।
न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भनेका छन्, “आकस्मिक बाढीपछि नेपाल र चीनबाट बाहिर आइरहेका दृश्यहरू अत्यन्तै हृदयविदारक छन् । प्रभावित सबै तथा प्रभावित समुदायहरूप्रति मेरो गहिरो समवेदना छ । प्रभावित हुन सक्ने न्युजिल्यान्डका नागरिकका सम्बन्धमा न्युजिल्यान्डले नेपालका अधिकारीहरूसँग सम्पर्कमा रहेर समन्वय गरिरहेको छ ।” उनले प्रभावित क्षेत्रमा रहेका न्युजिल्यान्डका नागरिकहरूले सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी आफ्ना परिवार तथा साथीहरूलाई गराउन आग्रह गरे । यदि तत्काल सहयोग आवश्यक परेमा २४ घण्टा, सातै दिन उपलब्ध कन्सुलर आपत्कालीन सेवाको नम्बर ं६४ ९९ २० २० २० मा सम्पर्क गर्न पनि उनको आग्रह छ ।
प्रधानमन्त्री शाहले न्युजिल्यान्डका समकक्षीलाई यस कठिन समयमा उहाँले व्यक्त गर्ेको समवेदना र सहयोगका लागि धन्यवाद दिँदै न्युजिल्यान्डले व्यक्त गरेको ऐक्यबद्धता र मित्रताप्रति नेपाल गहिरो आभार व्यक्त गरे ।
प्रकाशित समय : २१:४४ बजे


















