गृहपृष्ठ भोटेकोशी बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार
भोटेकोशी बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार
जनकपुर । चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मधेश प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका प्रदेशका विभिन्न जिल्लाका नागरिकहरूको नामावली सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पर्सा तथा पर्सामा अस्थायी बसोबास गर्नेहरूमध्ये वीरगञ्ज–१४ का नग नारायण पटेल, कलैया–२२ का सुबोध पटेल र अरुण हजरा, वीरगञ्ज–१५ का श्यामबाबु ठाकुर तथा पृथ्वी चौधरी, वीरगञ्ज–१३ का कमरुल होदा अंसारी, वीरगञ्ज–४ का अनुतम बहादुर श्रेष्ठ, बरियारपुर–८ का सुभाष पटेल, परवानीपुर–४ का समिम देवान र निजगढका दिनेश परियार सम्पर्कविहीन छन् । यस्तै पर्सामा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको छ ।
यसैगरी बाराको परवानीपुर–५ का ३५ वर्षीय नम नारायण सिंह, कलैया–२२ का २३ वर्षीय सत्य प्रकाश राम र आदर्श कोतवाल–१ का २३ वर्षीय अन्कित पटेल सम्पर्कमा छैनन् । रौतहटको वृन्दावन–२ का ३४ वर्षीय गौरव राउत र ईशनाथ–४ का १९ वर्षीय शेख मजिद पनि बाढीपछि सम्पर्कविहीन रहेका छन् । सर्लाहीको लालबन्दी–९ का ५२ वर्षीय माधव काफ्ले र उनका २२ वर्षीय छोरा अनुज काफ्लेसहित लालबन्दी–५ का कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा तथा हरिवन–५ का सुनिल कुशवाहा बेपत्ता सूचीमा छन् । यस्तै सप्तरीको विष्णुपुर–१ का अजय कुमार यादव र शम्भुनाथ–८ का साजन चौधरीको पनि अवस्था अज्ञात छ ।
प्रहरीका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तानको भने सकुशल उद्धार भई सम्पर्कमा आइसकेका छन् । साथै यसअघि सम्पर्कविहीन भनिएका धनुषाका दुई जना नागरिक पनि गएराति नै सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
बाँकी व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायहरूसँग तीव्र समन्वय र खोजी भइरहेको छ । प्रदेश प्रहरी कार्यालयले प्रभावित परिवार तथा आफन्तजनलाई विचलित नहुन आग्रह गर्दै उनीहरूबारे कुनै पनि जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनमा तुरुन्त सम्पर्क गर्न अपिल गरेको छ ।
प्रकाशित समय : ०९:४४ बजे


















