गृहपृष्ठ रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमा दुःखी, उच्च सतर्कता अपनाउन आग्रह

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमा दुःखी, उच्च सतर्कता अपनाउन आग्रह

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमा दुःखी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा जनजीवन तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले दुःख व्यक्त गरेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीले सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनामा क्षति पुर्‍याएको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन् ।

घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने भन्दै नाइमाले चिन्ता व्यक्त गरेको छ ।

नाइमाले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ ।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम रहन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नाइमाले नागरिकलाई सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

प्रभावित समुदायसँग साथमा रहेको जनाउँदै नाइमाले उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु