गृहपृष्ठ एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
Greece Heat Hats
ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच घामबाट बच्ने टोपीको माग बढेको छ । एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कहरूमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन् । दिउँसोको चर्को घामबाट जोगिन पर्यटकहरूले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन् ।
सन् २०२५ मा एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए । धेरै पर्यटकले छायाँको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौँ बिताउने गरेका छन् ।
अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामबाट बच्न टोपी आवश्यक भएको बताए। “मेरो अनुहार घामले रातो भइसकेको छ । अहिले टोपी लगाउनु सामान्य भएको छ र मानिसहरू पनि यसप्रति बढी सचेत भएका छन्”, उनले भने ।
गत वर्ष ग्रीसमा करिब तीन करोड ८० लाख पर्यटक पुगेका थिए । अत्यधिक गर्मीका बाबजुद पर्यटकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले घामबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् ।
एक्रोपोलिसमा रेडक्रसका स्वयंसेवकहरूले पर्यटकलाई सनस्क्रिन, पानी, जानकारीमूलक पर्चा तथा टोपी वितरण गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरूले पराबैजनी किरणको असर तथा ‘हिट स्ट्रोक’बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
सिन्टाग्मा स्क्वायरका किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षमा टोपीको बिक्री बढेको बताए । उनका अनुसार टोपीको मूल्य छ युरोदेखि २० युरोसम्म पर्छ ।
यसैबीच, टोपी निर्माता लिसा सारिगियानिडोउले परम्परागत शैलीका परालका टोपी उत्पादन गर्दै आएका छन । उनका टोपीको मूल्य करिब ५० युरोबाट सुरु हुने र विशेष डिजाइनका टोपीको मूल्य १०० युरोभन्दा बढी पर्ने उनले बताए ।“टोपीप्रतिको मानिसहरूको दृष्टिकोणमा परिवर्तन आएको छ”, उनले भने।
प्रकाशित समय : १३:१२ बजे


















