गृहपृष्ठ अमेरिकामा टिकटकलाई ४० करोड डलर जरिवाना, बालबालिकाको गोपनीयता उल्लंघन आरोप
अमेरिकामा टिकटकलाई ४० करोड डलर जरिवाना, बालबालिकाको गोपनीयता उल्लंघन आरोप
काठमाडौं। सामाजिक सन्जाल टिकटकले बालबालिकाको गोपनीयताको अधिकार उल्लंघन गरेको फेला परेपछि अमेरिकामा ४० करोड डलर जरिवाना तिराइएको छ। बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा गरिएको कारबाही र जरिवाना हालसम्मकै उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
टिकटकको माउ कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका करोडौं प्रयोगकर्ताको डाटा संकलन गरेको आरोपसहित मुद्दा लगाइएको थियो। बीबीसीका अनुसार यो मुद्दा सन् २०२४ मा दायर गरिएको थियो।
अमेरिकामा सन् २००० मा पारित गरिएको संघीय कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ विपरीत यो कार्य गरिएको थियो। सोहीअनुसार अहिले अमेरिकाका दर्जनौं राज्यले मेटामाथि पनि मुद्दा दायर गरिरहेका छन्।
यसअघि गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर कोप्पा उल्लंघनका कारण जरिवाना तिरिसकेका छन्। मेटा कम्पनी पनि २९ वटा अमेरिकी राज्यका महान्यायाधिवक्ताले लगाएको यस्तै आरोपको सामना गरिरहेको छ।
सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय मन्त्रालयलाई ३० करोड डलर तिर्नेछन्। संघीय व्यापार आयोगसँगको सन् २०१९ को मंजुरी डिक्रीलाई सरकारले खारेज गरेपछि थप १० करोड डलर तिर्नेछ।
सम्झौताको एक भागको रूपमा, बाइटडान्सको पूर्ववर्ती संस्था म्युजिकल्लीलाई पनि कोप्पा उल्लंघनका लागि ५७ लाख डलर जरिवाना तिर्न र १३ वर्षमुनिका प्रयोगकर्ताको लागि अभिभावकीय सहमति लिन भनिएको थियो।
मुद्दा दायर गरिएका बेला अमेरिकी कानुनविदले टिकटक प्रयोग गर्ने १७ करोड किशोरकिशोरी रहेको र यो एप बालबालिका लक्षित रहेको बताएका थिए। तर, यसले प्रयोगकर्ताको उमेर प्रभावकारी रूपमा जाँच्न वा नाबालकका लागि अभिभावकीय सहमति लिन सकेको थिएन।
पछिल्लो समय अमेरिकामा टिकटकको स्वामित्वमा परिवर्तन आएको छ। यसको अमेरिकी सञ्चालनको ८१ प्रतिशत हिस्सा लगानीकर्ताको कन्सोर्टियमको स्वामित्वमा छ भने बाइटडान्ससँग १९ प्रतिशत हिस्सा मात्र बाँकी छ।
अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रेट सुमाटेले यो मुद्दा सुरु हुँदाको अवस्थाभन्दा अहिले बालबालिका र अभिभावक बढी सुरक्षित भएको बताएका छन्। –एजेन्सी
प्रकाशित समय : ११:१० बजे


















