गृहपृष्ठ सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी
सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी
जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापर्वाहीबारे चेतावनी दिएको छ ।
शिजुओका प्रान्तका प्रहरीले बिहीबार माउन्ट फुजीमा ती बालकलाई एक्लै फेला पारेपछि संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यम एसबीएस टिभीका अनुसार बालकले आरोहणका क्रममा आफू थाकेको बताएपछि बुबाले उनलाई समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको छैटौँ स्टेशनमा पर्खन भनेका थिए । त्यसपछि बुबा जेठो छोरासँगै आरोहण जारी राखेका थिए ।
टिभी असाहीका अनुसार बालकलाई करिब आठ घण्टासम्म खाजा र पेय पदार्थका साथ त्यहीँ पर्खन भनिएको थियो । उनीसँग पैसा भने थिएन । पहाडी विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले माउन्ट फुजीको आठौँ स्टेशनमा रहेका बुबालाई सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ ।
प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै लापर्वाही भएको स्वीकार गरेका छन् । प्रहरीले बालकलाई एक्लै छाड्नु जोखिमपूर्ण हुने भन्दै अभिभावकलाई सावधानी अपनाउन चेतावनी दिएको छ ।रासस
प्रकाशित समय : १०:१२ बजे


















