गृहपृष्ठ खोरसोरमा गोविन्देको त्रास
खोरसोरमा गोविन्देको त्रास
चितवन । सौराहाको खोरसोरमा ‘गोविन्दे’ ले त्रास फैलाएको छ ।
गोविन्दे मत्ता हाती हो । ढोइको खोजीमा खोरसोर छिरेकाले गोविन्देले त्रास फैलाएको हो । सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा दुई सातादेखि जङ्गली हात्ती ढोइ डुलिरहेको हात्तीसारका प्रमुख मणिपुरण चौधरीले बताए।
भाले तथा वयस्क हात्तीलाई मत्ता र पोथी हात्तीलाई ढोइ भनिन्छ । हात्ती चराउन जङ्गल लगेपछि गोविन्दे अरु हात्तीसँग जाने र जङ्गलबाट फर्किएपछि प्रजननका लागि पोथी हात्ती कुरेर बस्ने गरेको त्यहाँका माउतेहरुले राससलाई बताए ।
गोविन्देका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिँडडूल गर्नसमेत अवरोध भएको उहाँहरुले जानकारी दिनुभयो । हालसम्म गोविन्देले आठ जना मान्छेको ज्यान लिइसकेको छ । गोविन्देले यसअघि दुधौरा पोष्टमा कार्यरत नेपाली सेनालाई आक्रमण गरेको थियो । मात लागेको हात्ती सधैँ ढोइ कुरेर बस्छ । खोरसोरमा नौ वटा माउ र सात वटा छावा रहेका छन् । यहाँ जङ्गली हात्ती पालैपालो आउने गरेका छन् ।
यसअघि रोनाल्डो सुनाचुरी तिर, ध्रुर्वे सुखिभार तिर र अहिले देखिएको गोविन्दे खोरसोरमा छ । यसअघि मकुना हात्ती मरेपछि अरु हात्ती पालैपालो आउने गरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार ध्रुर्वेले २५ जना र रोनाल्डोले २२ जनाको ज्यान लिइ सकेको छ । खोरसोरका हात्तीलाई जङ्गली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन् ।
प्रकाशित समय : १७:३४ बजे


















