गृहपृष्ठ ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’

ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’

ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र प्रदेशअन्तर्गतका २९ वटा स्थानीय तहको सहकार्यमा ‘ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०८३÷८४ का लागि इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटन पूर्वाधार विकासका लागि १ करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाका लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

त्यस्तै, कन्याम, फिक्कल र अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास तथा विस्तारका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कुल चार करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।

उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ वटा स्थानीय तहहरूको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना ट्रेल बेस टुरिजम डेभलपमेन्ट प्रोजेक्ट सञ्चालन गरिरहेको छ । उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८३÷८४ का लागि समेत इलामको सूर्योदय नगरपालिकाको लागि एक करोड ५४ लाख रुपैयाँ र इलाम नगरपालिकाको लागि ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’

‘त्यस्तैगरी कन्याम, फिक्कल, अन्तुडाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास र विस्तार प्रयोजनको लागि तीन करोड रुपैयाँ गरी यस आर्थिक वर्षको लागि कुल चार करोड ९५ लाख विनियोजन भएको निवेदन गर्न चाहन्छु,’ उनले भने ।

मन्त्री पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए ।

उनका अनुसार नेपाललाई उक्त सूचीबाट हटाउन उड्डयन सुरक्षा प्रणालीमा सुधारसँगै नियामकीय, क्षमता अभिवृद्धि, संस्थागत सुधार तथा कूटनीतिक पहललाई समानान्तर रूपमा अघि बढाइएको छ ।

मन्त्री पौडेलले ईयूले सन् २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन गरेको जानकारी दिए । उक्त मूल्याङ्कनबाट देखिएका सुधारका विषयमा लामो समयसम्म आवश्यक कार्यान्वयन हुन नसकेको उनले बताए ।

मन्त्री पौडेलले आफूहरू सरकारमा आएपछि ईयूले औंल्याएका सुधारका विषयमा आवश्यक विवरण तयार गरी ५ जुन २०२६ मा युरोपेली संघसमक्ष पेश गरिएको जानकारी दिए ।

उनका अनुसार नेपालले पेश गरेको विवरणबारे ईयूले १२ जुन २०२६ मा जानकारी पठाएको थियो । उक्त जानकारीअनुसार नेपालले पेश गरेका सुधारात्मक कार्ययोजनाको समीक्षा गर्मी बिदापछि गरी त्यसको नतिजा उपलब्ध गराउने ईयूले जनाएको मन्त्री पौडेलले बताए ।

उनले भने, ‘युरोपेली संघले २०२३ सेप्टेम्बर ११ देखि १५ सम्म नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । तर उक्त मूल्याङ्कनको खुला निष्कर्षहरूलाई अहिलेसम्म कार्यान्वयन नभईकन बसेको थियो,’ उनले भने, ‘हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली संघसमक्ष हामीले यसको विवरण पेश गरेका छौँ र संघले पनि १२ जुन २०२६ मा पठाएको जानकारीअनुसार ती सुधारात्मक कार्ययोजनाको समीक्षा उहाँहरूको भनाइअनुसार गर्मी बिदापछि गरेर हामीलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ ।’मन्त्री पौडेलले नेपालको हवाई सुरक्षालाई थप सुदृढ बनाउँदै ईयूको एयर सेफ्टी लिस्टबाट नेपाललाई हटाउन आवश्यक सुधारका कामलाई निरन्तरता दिइरहेको बताए ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु