गृहपृष्ठ मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट
मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट
काठमाडौँ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिए का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा गरिने सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा युएनएफपिएले विगत पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । उनले मन्त्रालय र युएनएफपिएबीचको दीर्घकालीन साझेदारीलाई आगामी दिनमा अझ सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा जोड दिएको थिए ।
मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानिकारक अभ्यास र कुप्रथाको अन्त्य गर्नु मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताए । महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य प्रणाली निर्माणमा युएनएफपिएले गर्दै आएको प्राविधिक सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य सेवा, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा सहकार्य विस्तार गर्नेबारे उनिहरूबीच छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १६:५४ बजे


















