गृहपृष्ठ माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

घोडाघोडी । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक २५ लाख बचत गरेको छन् । कैलालीको घोडाघोडी नगरपालिक–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।

पाँच वर्षअघि बैङ्कबाट कुल ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक २५ लाख कमाउन थाल्नुभएको हो ।

माछा उद्यमीका रुपमा परिचित विनोदको उमेर २७ वर्षको छ । पाँच वर्षअघि सीमित लगानीबाट उहाँले माछापालन सुरु गरेका हुन् । सुरुमा लगानी भए पनि अहिल भने विनोद माछापालन व्यवसायबाट खुसी भएको छन् ।

उनको अधिकांश समय पोखरीमा बित्ने गर्छ । पढाइसँगै आम्दानी गर्नुपर्छ भन्ने मान्यताले माछापालनतर्फ आकर्षित भएका चौधरीले गाउँका अन्य युवालाई पनि स्वरोजगर बन्न प्रेरणा दिन थालेका छन् ।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन,” विनोदले भने । माछापालन व्यवसाय सुरु गर्नु उनका लागि सहज थिएन । पोखरी, बाँध, पानी आपूर्तिको व्यवस्था, अन्य भौतिक संरचना निर्माणमै लाखौँ खर्च गर्नु परेको थियो ।

चौधरीले सुरुमा २५ लाख लगानी गरेका थिए । पछि क्रमशः लगानी बढ्दै गयो । लगानी उठ्दैन भन्ने डर नभएको होइन, विनोदलाई अन्ततः धैर्यताको फल मीठो हुन्छ भने जस्तै पाँच वर्षमा उनको लगानी उठिसकेको छ । विनोद अहिले नाफामाछन् ।

उनका अनुसार व्यवसायको सुरुआती चरणमा आम्दानीभन्दा खर्च धेरै हुने भएकाले परिवार सञ्चालन गर्न कठिनाइ भएको थियो । उत्पादन कम हुनु, बजार व्यवस्थापनमा अनुभवको कमी तथा निरन्तर लगानी आवश्यक पर्नुले आर्थिक दबाब बढाएको उनि सम्झन्छन ।

“सुरुमा कमाईभन्दा लगानी धेरै थियो । परिवार चलाउन पनि गाह्रो भयो । व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ । दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उनले भने ।

सुरुका वर्ष उत्पादन कम भएकाले वार्षिक पाँच लाखको माछा बिक्री हुने गरेको थियो । पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि वर्षमा दुई पटकसम्म माछा बिक्री गर्न सकिने अवस्था बनेको छ । यससँगै वार्षिक आम्दानी पनि करिब २५ लाखसम्म पुगेको उनले जानकारी दिए ।

बजारमा ताजा माछाको माग निरन्तर बढिरहेकाले गुणस्तरीय उत्पादन गर्न सके अझ राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको उनको विश्वास छ ।

बर्खायाममा बाँध भत्किने, पानीको सतह नियन्त्रण, पोखरी सफा, पानीको गुणस्तर कायम राख्नुपर्ने काममा हरेक वर्ष थप खर्च हुने गरेको उनले बताए । उनले पाँच वटा ठूला पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको छन् । चौधरीका अनुसार व्यवसाय सुरु गर्दा आवश्यक प्राविधिक ज्ञानको अभाव थियो । त्यसपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तालिम, प्राविधिक परामर्श र अनुभवी किसानसँगको सिकाइले व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

माछापालन व्यवसायमा धैर्य, लगनशीलता र सही व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने उनको अनुभव छ । धेरैले व्यवसाय सुरु गरेको छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्ने गरे पनि यो क्षेत्रमा सुरुका केही वर्ष लगानी बढी हुने र त्यसपछि मात्रै प्रतिफल आउन सुरु हुने उनको भनाइ छ ।

उनको व्यवसायमा अहिले परिवारका सदस्यहरूको पनि सक्रिय साथ रहेको छ । दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्री तथा अन्य दैनिक काममा परिवारका सदस्यले सहयोग गर्ने गरेका छन् । परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई थप विस्तार गर्न सहज भएको उनि बताउछन ।

आगामी दिनमा उत्पादन क्षमता अझै बढाउने, आधुनिक प्रविधिको प्रयोग गर्ने तथा थप पोखरी विस्तार गरी व्यावसायिक माछापालनलाई अझ सुदृढ बनाउने योजना रहेको उनले बताए ।

जोखिम मोलेर सुरु गरिएको माछापालन व्यवसायले आज चौधरीलाई आत्मनिर्भर बनाएको मात्र छैन, गाउँमै बसेर आधुनिक कृषि उद्यममार्फत सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ । वैदेशिक रोजगारीलाई मात्रै सफलताको माध्यम ठान्ने युवाका लागि उनको यात्रा प्रेरणादायी उदाहरण बनेको छ ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु