गृहपृष्ठ सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

काठमाडौँ । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ ।

नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिताबाट प्राप्त हुने रकममध्ये केही अंश सैनिक कल्याणकारी कोषमा योगदान गरी हिताधिकारीको शिक्षा, स्वास्थ्य, आवास, बिमा, आर्थिक राहत तथा अन्य कल्याणकारी कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने उद्देश्यले २०३२ सालमा उक्त कोषको स्थापना भएको थियो ।

‘बहुजन हिताय, बहुजन सुखाय’ भन्ने आदर्श वाक्यलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्दै कोषले बहालवाला र अवकाशप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई जीवनका विभिन्न चरणमा आवश्यक सेवा, सुविधा र सहुलियत उपलब्ध गराउँदै आएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । कोषले हिताधिकारीको बृहत् हित गरी समग्र सैनिक कल्याणकारी कार्यलाई नै दिगो एवं व्यवस्थित बनाउने उद्देश्यले कार्य गरिरहेको छ ।

उनका अनुसार सैनिक कल्याणकारी कार्यक्रमको केन्द्रविन्दु ‘चार स’ अर्थात् शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत’को अवधारणाले बहालवाला, अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको जीवनचक्रलाई समेट्नेगरी गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सीप विकास, रोजगारी, आर्थिक सुरक्षा, बिमा, आवास, कर्जा तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरेको छ । बदलिँदो समय, प्रविधि र हिताधिकारीको आवश्यकतालाई मध्यनजर गर्दै कोषले ती कार्यक्रमलाई निरन्तर परिमार्जन एवं विस्तार गर्दै लगेको छ ।

सैनिक विद्यालय÷महाविद्यालय, प्राविधिक महाविद्यालयमा मेडिकल, नर्सिङ, पोलिटेक्निक्स तथा कृषि विज्ञान संस्थानमार्फत कोषले हिताधिकारीका सन्ततिलाई सहुलियतपूर्ण शिक्षण शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराएको छ ।

कोषमार्फत हिताधिकारीका सन्ततिका लागि छात्रवृत्ति व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइएको छ । उक्त संस्थाबाट हासम्म एक हजार ७४ चिकित्सक, दुई हजार ७६ नर्स, प्राविधिक ५५ (अटोमोबाइल र मेकानिकल), ४०९ कृषिविज्ञलगायत विभिन्न विधाका दक्ष जनशक्ति उत्पादन भई राष्ट्रको समग्र विकासमा योगदान पुगेको छ ।

हालसम्म सैनिक विद्यालय÷महाविद्यालयबाट करिब ३० हजार र प्राविधिक महाविद्यालयबाट करिब चार हजार सैनिक तथा गैरसैनिक विद्यार्थीहरू दीक्षित भइसकेका प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । त्यस्तै कोषमार्फत सैनिक विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्ने अवसर नपाएका सन्ततिका लागि विभिन्न जिल्लामा सूचीकृत सम्झौता भएका २४४ उत्कृष्ट शैक्षिक संस्थाहरूमा चार हजार ६०० सन्ततिलाई अध्ययनको सुविधा उपलब्ध गराइएको छ ।

सैनिक विद्यालय÷महाविद्यालय तथा सूचीकृत स्कुलमा अध्ययन गर्ने अवसर नपाएका करिब ३५ हजार हिताधिकारीका एक सन्ततिका लागि कोषले प्रतिविद्यार्थी वार्षिक एकमुष्ट २५ हजार छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएको छ ।

यसैबीच, १९८३ सालमा त्रिभुवन चन्द्र मिलिटरी अस्पताल स्थापनापछि सुरु भएको स्वास्थ्य सेवा विस्तार हुँदै वीरेन्द्र सैनिक अस्पताल सेनाको केन्द्रीय तथा विशिष्टिकृत अस्पतालको रूपमा स्थापित भएको छ ।

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु