गृहपृष्ठ महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शुभारम्भ
महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शुभारम्भ
पाटन । महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान आजदेखि शुभारम्भ गरिएको छ । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनको नेतृत्व महिलाको हातमा’ अभियान आज ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो ।
नेपाली कांग्रेसी मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । “वातावरण संरक्षण हाम्रो जिम्मेवारी हो, संरक्षित हाम्रो सम्पदा र हरित वातावरणले सकरात्मक प्रभाव पार्छ, जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र सरोकार नभई सबै नागरिकको साझा विषय हो”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले जलवायु परिवर्तनका कारण समाजका सबै वर्ग प्रभावित भइरहेको बताउँदै यो महिला वा अल्पसङ्ख्यक समुदायको मात्रै सरोकारको विषय नभएको उल्लेख गरे । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानुनी प्रबन्धमा ध्यान दिँदै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै मधेसी आयोगका सदस्य रेणु शाहले विश्वव्यापी रूपमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न हरित अभियान, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले वातावरण संरक्षणका लागि सबै पक्षले एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव मधु घिमिरेले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमा ध्यान दिनुपर्ने बताए। उनले प्रत्येक स्रोतको उपयोग गर्दा थोरैबाट बढीभन्दा बढी लाभ लिन सकिने गरी दिगो र जिम्मेवार उपभोगको अभ्यास विकास गर्नुपर्नेमा जोड दिए ।
साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले कार्यक्रम वातावरण संरक्षणसम्बन्धी सचेतना जगाउने अभियान भएको बताए। उनले महिलावादी संस्था तथा जलवायु परिवर्तनसँग जोडिएका समस्याका क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
मिडिया एड्भोकेसी फोरमका कार्यकारी निर्देशक एवं सञ्चारकर्मी वविता बस्नेतले वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनले पारेको प्रभाव, प्लास्टिकजन्य फोहोर न्यूनीकरण, पुनःप्रयोग तथा पुनःचक्रण, हरित अभियान र वातावरणमैत्री व्यवहार विकासमा ध्यान दिनुपर्ने बताए ।
साथसाथै फाउण्डेशनले अन्तरपुस्ता नारीवादी मञ्च ९आईजीएफएफ० तथा ललितपुर महानगरपालिकाको सहकार्यमा आयोजना गरेको उद्घाटन कार्यक्रममा महिला, युवा, कलाकार, जलवायु अभियन्ता, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।
बागमती प्रदेश पाइलटका रूपमा सुरु गरिएको अभियानले नेपालका चाडपर्वहरूलाई सात आर (पुनःविचार, अस्वीकार, न्यूनीकरण, पुनःप्रयोग, मर्मत, पुनःउद्देश्यकरण र पुनर्चक्रर्ण)मा आधारित परिपत्र अर्थतन्त्रको अवधारणासँग जोड्दै दिगो जीवनशैलीको अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित समय : १८:०३ बजे


















