गृहपृष्ठ हलेसीमा चाम्लिङ सामुदायिक घरबासः खाना र आवासको व्यवस्था

हलेसीमा चाम्लिङ सामुदायिक घरबासः खाना र आवासको व्यवस्था

हलेसीमा चाम्लिङ सामुदायिक घरबासः खाना र आवासको व्यवस्था

खोटाङ ।हलेसी तुवाचुङ नगरपालिका(७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होमस्टे ९घरबास० सञ्चालनमा ल्याएका छन् । पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित घरबास सञ्चालनमा ल्याइएको हो ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको उक्त घरबास पर्यटकको रोजाइमा पर्ने राई चाम्लिङ समुदायले विश्वास गरेको छ । घरबासमा आउने पाहुनाले स्थानीय जातका कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचारलगायत परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।

‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको घरबासमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ भने आवासमा प्रतिशय्या रु २०० र एकजनाले खाने सादा खानाको मूल्य २०० तोकिएको छ । त्यसैगरी स्थानीय जातका कुखुराको मासु १५०, ब्रोइलर १००, राँगा १००, सुँगुर १००, खसी १५०, शाकाहारी खाजा १५०, स्थानीय जातका अण्डा ४० मा उपलब्ध हुने राई चाम्लिङ समुदायले जनाएको छ ।

घरबासमा आएर बस्ने पाहुनाका लागि स्थानीय भाले प्रतिकिलो ९०० मा उपलब्ध गराउने व्यवस्था मिलाइएको सञ्चालकहरूले बताएका छन् । घरबासमा खान र बस्नका साथै किरात संस्कार तथा संस्कृति अध्ययन गर्न, साकेला सिलीसमेत अवलोकन गर्न पाइने जनाइएको छ । पेय पदार्थतर्फ तोङ्बा रु २०० तथा ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सी एक हजार एमएलको ९१०, ५०० एमएलको ५०० र २५० एमएलको मूल्य २५० तोकिएको छ ।

स्थानीय ३० घरका चाम्लिङ राईहरूको सहभागितामा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको घरबासमा हाल आठ परिवार सहभागी भएका छन् । नगरपालिकाको लगानीमा सामुदायिक घरबास सञ्चालन भएपछि पर्यटक आउन थालेका छन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हरेक वर्ष लाखौँ पर्यटक आउने भएकाले उनीहरूलाई स्थानीयस्तरमा सेवा दिने लक्ष्यका साथ घरबास सञ्चालन गरिएको नगरप्रमुख विमला राईले बताइन । “स्थानीय उत्पादन, संस्कृति र आम्दानीलाई जोड्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याएका हौँ । तत्कालका लागि दैनिक ४० जना पाहुनालाई राख्न मिल्ने व्यवस्था गरिएको छ”, उनले भने “यो होटल व्यवसायीसँगको प्रतिस्पर्धा होइन । यसको छुट्टै विशेषता छ ।”

नगरपालिकाले दुई वर्षदेखि पूर्वाधार तयारी गरेको जनाउँदै पहिलो वर्ष सडक स्तरोन्नति तथा ग्राभेल गरिएको र दोस्रो वर्ष सिँढी बाटो निर्माण, तालिम र कोदोको तीनपाने रक्सी ब्रान्डिङ गरिएको नगरप्रमुख राईले जानकारी दिए । उनका अनुसार ब्रान्डिङ गरिएको रक्सीलाई ‘बोतलिङ’ र ‘लेबलिङ’ गरी बजारमा ल्याइएको छ ।

नगरपालिकाको पहलमा उत्पादन गरिएको स्थानीय (लोकल) रक्सीको अल्कोहल नाप्ने उपकरणसमेत प्रयोग गरिएको छ । तालिम प्राप्त महिलाले उत्पादन गरेका रक्सीमा ४५ देखि ५० प्रतिशतसम्म अल्कोहल हुने जनाइएको छ ।

उत्पादित रक्सीलाई नगरपालिकाले कार्यविधि बनाएर घरबासमार्फत मात्रै बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । कानुनी रूपमा उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध रहेको कोदोको रक्सीलाई नगरपालिका आफँैले प्रवर्द्धनको काम सुरु गरेपछि स्थानीयले रोजगारसमेत पाएका छन् ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु