गृहपृष्ठ बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने
बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ।कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक ९पश्चिम सेती० प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा जोडिनेछ ।
प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विद्युत् ऐन, २०४९ को दफा ९४० को व्यवस्थाअनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।
सो आयोजनाअन्तर्गत ४००र१३२ केभी, १६० एमभिए क्षमताको चैनपुर सबस्टेसन निर्माण हुनेछ । यस्तै, ४००र१३२ केभी र ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती) सबस्टेसन समेत निर्माण हुनेछ ।
प्रसारण लाइनको लम्बाइ ६० किलोमिटर हुनेछ । त्यसमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ६१ मिटर र टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ भने न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म रहनेछ ।
प्रसारण लाइन निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर जमिन आवश्यक छ ।
विद्युत् मार्गको क्षेत्राधिकारअन्तर्गत २६५ हेक्टर जग्गा जरुरी पर्दछ । सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जग्गामध्ये सात हेक्टर बनलेक सबस्टेसनका लागि र १४ दशमलव ३७ हेक्टर चैनपुर सबस्टेसनका लागि जरुरी पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ ।
प्रसारण लाइनको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन निर्माण एवम् सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ । आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।
प्रकाशित समय : ०६:१५ बजे


















