गृहपृष्ठ राष्ट्रियसभाः जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
राष्ट्रियसभाः जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनापेक्षा बमोजिम काम गर्नुपर्ने बताए ।
बैठकमा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नेपाली जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्याएकाले जनताको चाहना र भावना बमोजिम काम गर्न आग्रह गरे । उनले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिकेर जनहितमा केन्द्रित हुँदै समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रूक्मिणि कोइरालाले नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक साझा फूलबारी भएकाले एकापसमा समन्वय र भाइचारका साथ सबै जातीय र साम्प्रदाय सहकार्य गर्नुपर्ने धारणा राखे । उनले सरकारले जनजीवनका सवालमा वास्तविक समस्या पहिचान गरी सोही आधारमा समाधानका लागि राहतमूलक काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुनसरीसहितका जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे । नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले संवाद, मेलमिलाप र समन्वयनका माध्यमबाट मुलुकमा शान्ति र समृद्धि हासिल गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
नेकपाका सांसद भुवनबहादुर सुनुवारले मिटरब्याज पीडितहरू अझै माइतीघर मण्डलामा रहेकाले उनिहरूको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए । एमालेका सांसद रेखाकुमारी झाले नेपाल(भारत खुला सीमाको दुरूपयोग गरी चोरीपैठारी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सरकारले ध्यानाकर्षण गराए ।
प्रकाशित समय : १६:३१ बजे



















