गृहपृष्ठ सरकार र हिन्दूवादीबीच १३ बुँदे सहमति, ‘हिन्दू राष्ट्र’बारे तीन महिनाभित्र सर्वदलीय छलफल गर्ने
सरकार र हिन्दूवादीबीच १३ बुँदे सहमति, ‘हिन्दू राष्ट्र’बारे तीन महिनाभित्र सर्वदलीय छलफल गर्ने
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र आन्दोलनरत हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच शनिबार राति १३ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको वार्तापछि भएको सहमतिको जानकारी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दिएका हुन्। संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति तथा राष्ट्रिय पहिचानसँग सम्बन्धित १३ बुँदे मागपत्र प्रस्तुत गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाइएको छ।
सहमतिअनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढाइनेछ। धार्मिकस्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गरिनेछ भने मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायत धार्मिकस्थलमा जडान गरिएका लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिनेछ। आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमतिमा उल्लेख छ।
त्यस्तै, धार्मिकस्थलमा बसोबास गर्ने व्यक्तिको अभिलेखीकरण गर्ने, विदेशी नागरिकको हकमा सम्बन्धित निकायमार्फत निगरानी र व्यवस्थापन गर्ने तथा सामाजिक सञ्जालमार्फत धार्मिक, साम्प्रदायिक वा जातीय द्वेष फैलाउनेमाथि कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ।
सुनसरीको देवानगन्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिने, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गर्ने र धार्मिक आयोगहरूको औचित्य, आवश्यकता तथा कानुनी आधारको पुनरावलोकन गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
यसैगरी आन्दोलनमा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्ने, नेपाली नागरिकता वितरण प्रक्रियाको छानबिन गर्ने, विदेशी नागरिकसँग सम्बन्धित विषयमा कानुनी प्रक्रिया अघि बढाउने तथा मदरसा, मस्जिद र अन्य धार्मिक संस्थामा प्राप्त हुने आर्थिक स्रोतको अनुगमन गरी पारदर्शिता कायम गर्ने सहमति भएको छ। आवश्यक परे त्यस्ता संस्थाको नियमन र कानुनी कारबाही प्रक्रिया अघि बढाइने पनि सहमतिमा उल्लेख गरिएको छ।
वार्तामा गृहमन्त्री गुरुङसँगै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेशका अर्थमन्त्री युवराज भट्टराई, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रतिनिधिसभा सदस्य मनिष झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह तथा संयुक्त हिन्दू मोर्चाका संयोजक हिन्दू सम्राट सेनालगायतका प्रतिनिधिहरू सहभागी थिए।
प्रकाशित समय : ०६:१० बजे



















