गृहपृष्ठ मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त
मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सुनसरी, सिराहालगायत मधेस प्रदेश तथा देशका विभिन्न स्थानहरूमा विगत केही दिनयता मानवीय तथा धनजनको क्षति हुनेगरी भएका घटनाप्रति मुख्यमन्त्री शाहीले आज गहिरो दुःख व्यक्त गरेका हुन् ।
कर्णाली र मधेस प्रदेशबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले धेरै साझा विशेषता र आत्मीय सम्बन्ध रहेकाले मधेसले भोगिरहेको यस दुःखको घडीमा कर्णाली प्रदेश सरकार तथा कर्णालीवासीहरू पनि उत्तिकै मर्माहत भएको उनले बताएको छन् ।
आज एक अपिल जारी गर्दै उनले भने “देवानगन्ज घटनामा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस संवेदनशील अवस्थामा कुनै पनि जातजाति, भाषा, धर्म वा सम्प्रदायबीच वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहँदै शान्ति, सद्भाव, सहिष्णुता, कानुनी शासन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आमनागरिकमा हार्दिक अपिल गर्दछु ।”
मधेसमा घटेको दुःखद् घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सृजना हुनु अत्यन्तै चिन्ताजनक विषय बनेको बताउनुभएको मुख्यमन्त्री शाहीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
वर्तमान संवेदनशील परिस्थितिमा सबै पक्षले उच्च संयमता अपनाई कानुनको पूर्णपालना गर्न तथा शान्ति, सद्भाव, भाइचारा र आपसी विश्वासलाई केन्द्रमा राखी अघि बढ्न उनले आग्रह गरेका छन् ।
प्रकाशित समय : १६:५६ बजे


















