काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव छनोट प्रक्रिया सुरु

2.73K
shares

काठमाडौं। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आगामी महासचिव छनोटका लागि पहिलो अनौपचारिक मतदान (स्ट्र पोल) सुरु गरेको छ। वर्तमान महासचिव एन्टोनियो गुटर्रेसको दोस्रो कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिने भएकाले उनको उत्तराधिकारी चयन प्रक्रिया अघि बढाइएको हो।

हालसम्म चार महिला र तीन पुरुष गरी सात जनाले महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। प्रतिस्पर्धामा चिलीकी मिसेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्स्पान, युगान्डाका ओलारा ओटुनु, गुयानाकी क्यारोलिन रोड्रिग्स–बिरकेट र सेनेगलका माकी साल छन्।

उम्मेदवारमध्ये अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का महानिर्देशक राफेल ग्रोसीको नाम सबैभन्दा परिचित मानिए पनि कूटनीतिक वृत्तमा हालसम्म कुनै स्पष्ट अग्रपङ्क्तिका उम्मेदवार देखिएका छैनन्। त्यसैले छनोट प्रक्रिया अझै केही महिनासम्म लम्बिन सक्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि आसिम अहमदले उत्कृष्ट उम्मेदवार चयन गर्नु नै अहिलेको प्रमुख प्राथमिकता भएको बताएका छन्।

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य—अमेरिका, रूस, चीन, फ्रान्स र बेलायत—ले आफ्नो समर्थन कसलाई रहने भन्ने सार्वजनिक नगरेकाले अहिले नै नतिजाबारे अनुमान गर्न कठिन रहेको कूटनीतिज्ञहरूको भनाइ छ।

महासचिव बन्न उम्मेदवारले सुरक्षा परिषद्का १५ सदस्यमध्ये कम्तीमा नौ मत प्राप्त गर्नुपर्छ। साथै, पाँच स्थायी सदस्यमध्ये कसैले पनि भिटो प्रयोग नगर्नुपर्ने व्यवस्था छ। यी दुवै चरण पार गरेपछि मात्रै उम्मेदवारको नाम संयुक्त राष्ट्रसंघको महासभामा अनुमोदनका लागि पठाइन्छ।

सुरक्षा परिषद्का सदस्यहरूले बन्द बैठकमा गोप्य रूपमा हुने पहिलो अनौपचारिक मतदानमा प्रत्येक उम्मेदवारबारे ‘प्रोत्साहन’, ‘निरुत्साहन’ वा ‘कुनै राय छैन’ भन्ने तीनमध्ये एक विकल्प रोज्छन्। सन् १९८० को दशकमा भिटोका कारण उत्पन्न गतिरोध अन्त्य गर्न सुरु गरिएको यो प्रणाली अहिले पनि महासचिव छनोट प्रक्रियाको महत्वपूर्ण आधार बनेको छ।

सुरुवाती चरणमा सबै मतपत्र एउटै रङका हुन्छन्। त्यसपछि हुने मतदानमा भने पाँच स्थायी सदस्यका मतपत्र फरक रङका प्रयोग गरिन्छ, जसबाट सम्भावित भिटोको संकेत प्राप्त हुने भए पनि कुन देशले कुन उम्मेदवारलाई अस्वीकार गर्‍यो भन्ने खुल्दैन।

अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक रिचार्ड गोवानका अनुसार अनौपचारिक मतदानले कमजोर समर्थन भएका उम्मेदवारलाई सम्मानजनक रूपमा प्रतिस्पर्धाबाट बाहिरिने अवसर दिन सक्छ। यद्यपि प्रारम्भिक चरणमै कुनै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्ने सम्भावना कम रहेको उनको आकलन छ।

संयुक्त राष्ट्रसंघको महासचिव पद विभिन्न क्षेत्रका प्रतिनिधिबीच पालैपालो जाने अभ्यासअनुसार यसपटक ल्याटिन अमेरिकी क्षेत्रबाट नेतृत्व आउने अपेक्षा गरिएको छ। त्यही कारण यस क्षेत्रबाट सबैभन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन्।

पानामाका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि इलोय अल्फारो दे अल्बाले यसपटक पहिलोपटक महिला महासचिव चयन हुने अपेक्षा धेरै सदस्य राष्ट्रले गरेको बताएका छन्।

पहिलो अनौपचारिक मतदानअघि सातमध्ये छ जना उम्मेदवारले महासभामा सार्वजनिक सुनुवाइ तथा सुरक्षा परिषद्मा निजी छलफलमा भाग लिइसकेका छन्।