आजको राशिफलः वि.सं. २०८३ साउन १४ गते, बिहीबार
वि.सं.२०८३ साउन १४ बिहीवार ०६:२४
shares

वि.सं. २०८३ साउन १४ गते, बिहीबार, ई.सं. २०२६ जुलाई ३०, ऋतु : वर्षा, अयन : दक्षिणायन, नेपाल संवत् ११४६ दिल्लागा पारू, श्रावण कृष्ण पक्ष, श्रावण कृष्ण प्रतिपदा, नक्षत्र : ज्येष्ठा, चन्द्रमा मकर राशिमा, सूर्य कर्कट राशिमा, योग : आयुष्मान, करण : बालव। आज नेपालमा सूर्योदय बिहान ५ः२५ बजे र सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनुपर्दा दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेटदेखि ९ बजेर ३८ मिनेटसम्म रहेको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार आधारित छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखेर काम गर्नुहोला। कुनै विशेष काम गर्नुपर्ने भए त्यसका तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नु राम्रो हुन्छ। प्रेमी वा प्रेमिकाको स्वास्थ्य वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्न सक्छ। तर, अवसर मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ। नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभव हुनेछ। प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको समाधान हुन सक्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशील भएर परिश्रम गरे उत्कृष्ट परिणाम प्राप्त हुनेछ। आजको सानो प्रयासमा पनि भाग्यको साथ मिल्ने भएकाले राम्रो नतिजा प्राप्त हुनेछ। आत्मबल बढ्नेछ। नयाँ ज्ञान हासिल गर्ने वा विगतको सिकाइ र अनुभवको प्रयोग गरेर अघि बढ्ने समय हो। धन वा प्रतिष्ठा वृद्धि गर्ने उद्देश्यले गरिएका प्रयास सफल हुनेछन्। लामो समयदेखि समाधान हुन नसकेको विषय टुंग्याउन सकिनेछ। मुल्तवी र तामेलीमा परेका फाइलमा ध्यान दिए धन र मान–सम्मान दुवै बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास र दृढतामा वृद्धि हुनुका साथै मेहनत गर्ने दिन हो। कारोबारमा बेफाइदा हुने छैन, तर पारिवारिक सम्बन्धमा केही निरसता देखिन सक्छ। दौडधूप र व्यस्तता बढ्ने समय छ। काममा कसैको साथ–सहयोग नपाए पनि व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिका प्रयासमा उपलब्धि हासिल गर्न सकिनेछ। करियर र भविष्यप्रतिको सोच सक्रिय हुनेछ। प्रयास गरेमा कला, वाणिज्य, व्यवस्थापन तथा शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले राम्रो अवसर प्राप्त गर्न सक्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हातमा सफलता आउने दिन छ। नयाँ काम सुरु गर्दै हुनुहुन्छ भने त्यसले सकारात्मक गति लिनेछ। सही समय र स्थान छनोट गर्न सके प्रत्येक कदम सफल हुनेछ। भाग्यले साथ दिने समय भएकाले जस्तोसुकै समस्या आए पनि बुद्धिमानीपूर्वक काम गर्नुहोस्। सफल बन्न सक्नुहुन्छ। रोमान्टिक जीवनभन्दा अहिले घरपरिवार र अभिभावक बढी महत्त्वपूर्ण बन्न सक्छन्। भावनामा नियन्त्रण राखी कुराकानी गर्ने र जीवनसाथीलाई सम्झाउने प्रयास गर्नु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनका कारोबारमा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। हिसाब मिलेन भने घाटा हुन सक्छ। साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउन सक्छन्। स्वास्थ्यमा समस्या छ भने आरामका लागि समय निकाल्नु उचित हुनेछ। खनिज पदार्थ तथा पुरातात्त्विक वस्तुसम्बन्धी व्यवसायमा फाइदा देखिन्छ। मनोबल र साहसमा केही कमजोरी देखिन सक्छ। त्यसैले काम र जिम्मेवारीसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु आवश्यक छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्र, डेकोरेशन, ड्रेस डिजाइनिङ) तथा उपहार वा मनोरञ्जनका सामग्रीसँग सम्बन्धित क्षेत्रमा राम्रो सफलता मिल्नेछ। मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने तथा स्वादिष्ट भोजनको आनन्द लिने दिन छ। साथै जीवनसाथीको इच्छा र रुचिलाई पनि ध्यान दिनु उचित हुनेछ। गुरुवर्ग र अभिभावकले तपाईंमाथि विश्वास र भरोसा गरेका छन्। त्यसैले लक्ष्यप्रति सचेत भएर मेहनत गर्नुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जुनसुकै काम गर्दा पनि विशेष सावधानी अपनाउनुपर्ने दिन हो। विशेषगरी आर्थिक विषयमा सानातिना खर्चको समेत हिसाब राख्नु राम्रो हुन्छ। महत्त्वहीन काममा समय खर्च नगर्नुहोस्। मन स्थिर नभए केहीबेर विश्राम गरेर पुनः अध्ययन वा काममा जुट्नु उचित हुनेछ। एकाग्रतामा कमी आउने भएकाले एउटै विषयमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ। बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै भावनात्मक तनाव बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानको प्रगति र उपलब्धि देखेर खुसी मिल्ने दिन हो। परिवारजनको सहमतिले सोच्दै नसोचेको काम सम्पन्न गर्न सकिनेछ। बौद्धिक क्षमता निखारिने भएकाले अध्ययनमा विशेष ध्यान दिनुहोस्। अपेक्षाअनुसारको नतिजा प्राप्त गर्न सकिनेछ। शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो क्षमता प्रदर्शन गरी प्रशंसा पाउनेछन्। सामान्य व्यक्तिहरू पनि ज्ञान, अध्यात्म र दर्शनप्रति आकर्षित हुनेछन्। बौद्धिक तथा लेखनसम्बन्धी कार्यमा सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याले मन खिन्न बनाउन सक्छ। तर आज लापरबाही गर्ने दिन होइन। आजको मेहनतले राम्रो परिणाम दिनेछ। मानसिक अस्थिरताका कारण काममा ढिलासुस्ती हुन सक्छ। अत्यधिक दौडधूप गर्नुपर्ने समय भएकाले सानो लापरबाहीले पनि ठूलो नोक्सानी हुन सक्छ। महँगा सामान प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्। आत्मविश्वास बढ्नेछ, तर कामको चाप पनि बढ्नेछ। साथीभाइको सहयोग लिएर काम गरे सबै जिम्मेवारी पूरा गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भावना र मनका कुरा साझा गर्ने साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुन सक्छ। त्यसैले उसको निकटतालाई बेवास्ता नगर्नु राम्रो हुन्छ। कार्यक्षेत्रमा उत्साहजनक परिणाम प्राप्त हुनेछ। नयाँ रोजगारी वा व्यवसायप्रति आकर्षण बढ्नेछ। सोच्दै नसोचेको काम पूरा हुने दिन हो। कामप्रतिको समर्पणले ठूलो लाभ दिलाउनेछ। बोली र व्यवहारका कारण सेवाग्राहीलाई प्रभावित बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अविवाहित हुनुहुन्छ भने अब निराश हुनुपर्दैन। आज त्यस्तो व्यक्तिसँग चिनजान हुन सक्छ, जसले तपाईंको जीवनमा नयाँ रङ भर्न सक्छ। नयाँ विषयमा अत्यधिक चासो देखाउने वा नयाँ ठाउँमा लगानी गर्ने समय उपयुक्त छैन। दैनिकी सञ्चालनमा केही अवरोध आउन सक्छ। आम्दानीको सम्भावना राम्रो देखिए पनि वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपर्ने हुन सक्छ। त्यसैले बोली र व्यवहारमा नम्रता अपनाउनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विगतमा गरेको मेहनत र लगनशीलताको प्रतिफल प्राप्त हुने सुन्दर दिन हो। बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि छ। भावना साटासाट गर्ने अवसर मिल्नेछ र एकान्तमा बिताएको समयले प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ। प्रेमी वा प्रेमिकाबाट उपहार प्राप्त हुन सक्छ। नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द मिल्नेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुँदा खुसी लाग्नेछ।

























