global ime bank Long Banner Ad

गृहपृष्ठ क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप

क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप

क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको उच्च चाप

चितवन ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।

अस्पतालमा दैनिक करिव ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको छ । केही बिरामीलाई केमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई केमो दिने गरिएको छ ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै केमो दिँदा प्रभावकारी हुन्छ । उनले भने, “बिरामीको उच्च चापका कारण समयमा केमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ ।”

बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उीन बताउछन । उनले भने, “प्रादेशिक अस्पतालहरूमा केमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ ।” बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या र जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई केमो दिन नसकिएको उीन बताउछन् । अस्पतालले केमो चढाएको एक पटकको ५०० शुल्क लिने गरेको छ । केमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ । बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार केमोको मूल्य रु १०० देखि लाखौँसम्म पर्ने उनको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छपटकसम्म केमो दिने गरिन्छ । कतिपय बिरामीको तीन वर्षसम्म पनि केमो लगाउनुपर्ने हुन्छ । केमो लगाउनका लागि नेपालभर र भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्दछन् । लामो समय पालो कुर्नु परेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।

चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा केमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ । बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताए । उनले भने, “हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आएको छन् ।”

इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । जिल्लाका केही निजी अस्पतालहरूले मापदण्ड पूरा नगरी केमो दिने गरेको गुनासो छ । केही बिरामी यहाँ सरकारीमा पालो नपाएपछि भारत, काठमाडौँलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु