गृहपृष्ठ विस्कन्सिनमा भीषण आँधी, लाखौँ प्रभावित
विस्कन्सिनमा भीषण आँधी, लाखौँ प्रभावित
अमेरिकाको मध्यपश्चिम क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण उत्तरपूर्वी विस्कन्सिनमा व्यापक क्षति पुगेको छ । आँधीका कारण तीन लाख ९० हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने घरहरूमा क्षति, रूख ढल्ने र बिजुलीका तार चुँडिने घटना भएपछि अधिकारीहरूले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।
सिएनएनका अनुसार मेनासा र एप्पलटन क्षेत्रमा आएको आँधीलाई अमेरिकी राष्ट्रिय मौसम सेवाले ‘अत्यन्त खतरनाक’ घोषणा गर्दै विशेष चेतावनी जारी गरेको थियो । प्रारम्भिक क्षति मूल्याङ्कनका आधारमा आँधी कम्तीमा इएफ–२ श्रेणीको टोर्नाडो रहेको जनाइएको छ भने यसको अन्तिम मूल्याङ्कन अझै जारी छ ।
आँधीले घरका छाना उडाएको, सम्पत्तिमा ठूलो क्षति पु¥याएको, सयौँ रूख उखेलेको तथा हजारौँ उपभोक्तालाई विद्युत् सेवा अवरुद्ध बनाएको जनाइएको छ । मेनासा प्रहरी प्रमुख म्याथ्यु अल्ब्रेक्टले क्षतिग्रस्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रूपमा घरभित्रै बस्न आग्रह गर्दै उद्धारकर्मीहरूले प्रभावित क्षेत्रको निरीक्षण र सम्भावित पीडितको खोजी गरिरहेको बताएको छन् ।
मेनासा प्रहरी विभागले पनि खसेका बिजुलीका तार, अवरुद्ध सडक तथा अन्य जोखिमका कारण अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बन्द गरिएका सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
विन्नेबागो काउन्टीका अधिकारीहरूका अनुसार खसेका बिजुलीका तार, ढलेका रूख र अन्य संरचनात्मक क्षतिका कारण धेरै सडक अवरुद्ध भएका छन् । त्यसैले प्रभावित क्षेत्रको पूर्ण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ ।
सिएनएनका अनुसार टोर्नाडो दिउँसो विन्नेबागो तालतर्फ अघि बढ्दै करिब २० मिनेटसम्म जमिनमा सक्रिय रहेको थियो । आँधी विकसित भएको केही मिनेटपछि टोर्नाडो चेतावनी जारी गरिएको भए पनि त्यसअघि नै तीव्र हावा र सम्भावित टोर्नाडोको जोखिमबारे सचेत गराइएको थियो ।
यसैबीच, सोमबार नै विस्कन्सिनको ह्वाइटवाटर क्षेत्रमा रूख काट्ने क्रममा २९ वर्षीय एक विद्युत् सेवा प्राविधिकको चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय अग्नि तथा आपत्कालीन सेवाका अनुसार घटनास्थलमा ठूलो आवाज र चम्किलो प्रकाश देखिएपछि रूखमा चट्याङ परेको निष्कर्ष निकालिएको हो ।
मौसमविद्ले ग्रेट लेक्स र ओहायो उपत्यकाका क्षेत्रमा अझै शक्तिशाली हावाहुरी, ठूलो असिना तथा छिटपुट टोर्नाडो आउने सम्भावना रहेकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रकाशित समय : १७:३० बजे



















