गृहपृष्ठ भजनमा रमाउँदै युवा
भजनमा रमाउँदै युवा
चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण र सीमित सहभागिताको चित्र आउँथ्यो। तर चितवनमा भने त्यो धारणा बदलिँदै गएको छ। अहिले हरेक शनिबार साँझ मन्दिर परिसरमा सयौँ युवा भेला हुन्छन्। मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजन गाउँछन्, नाच्छन् र डेढ घण्टासम्म भक्तिमय वातावरणमा रमाउँछन्।
यस परिवर्तनको आधार बनेको छ सामाजिक सञ्जालबाट सुरु भएको ‘एमआरआर’ (मेन्स रुम रिलोडेड) अभियान। गत वर्ष साउनमा भरतपुरस्थित महाकालेश्वर शिवालय मन्दिरबाट २० जना युवाको सहभागितामा सुरु भएको अभियान अहिले चितवनका विभिन्न मन्दिरमा विस्तार भइसकेको छ। हरेक शनिबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुने भजन कार्यक्रममा अहिले एक हजारभन्दा बढी सहभागी हुने गरेका छन्।
अभियानका संयोजकमध्येका एक फणिन्द्र न्यौपानेका अनुसार सुरुआतमा केही युवाको प्रयासबाट सुरु भएको अभियान अहिले समुदायको साझा गतिविधि बनेको छ।
“सुरुसुरुमा २०–२५ जना मात्रै हुन्थ्यौँ,” उनले भने, “अहिले त सहभागीको सङ्ख्या थामिनसक्नु भएको छ।”
एमआरआरको विशेषता एउटै मन्दिरमा सीमित नहुनु हो। हरेक शनिबार फरक–फरक मन्दिरमा भजन आयोजना गरिन्छ। मन्दिर व्यवस्थापन समितिको निमन्त्रणापछि संयोजक फणिन्द्र न्यौपाने, एकान्त प्रेमी र रवि खरेलले कार्यक्रमको स्थान तय गर्छन्। त्यसपछि सामाजिक सञ्जालमार्फत समय र स्थान सार्वजनिक गरिन्छ र स्थानीयवासी स्वतः सहभागी हुन पुग्छन्।
भजनका लागि करिब ४० देखि ५० जना युवा वाद्यवादन सामग्रीसहित मन्दिर पुग्ने गर्छन् भने मन्दिर व्यवस्थापन पक्षले बस्ने व्यवस्था र साउण्ड सिस्टम उपलब्ध गराउँछ। कार्यक्रममा विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता उल्लेख्य रहने गरेको छ।
एमआरआरमा सहभागी युवाले भजनका लागि कुनै शुल्क लिँदैनन्। अभियान पूर्ण रूपमा स्वःस्फूर्त र सेवामूलक रहेको संयोजक न्यौपाने बताउँछन्। प्राथमिकता चितवनभित्रका मन्दिरलाई दिइए पनि आवश्यकताअनुसार अन्य जिल्लामा समेत भजन कार्यक्रम सञ्चालन गर्ने गरिएको छ।
कार्यक्रम आरतीसँगै सुरु हुन्छ। त्यसपछि युवाले पालैपालो टुक्का निकालेर भजन गाउँछन्। मन्दिर परिसरमा उपस्थित स्थानीय पनि गीत, भजन र नृत्यमार्फत कार्यक्रममा सहभागी बन्छन्। पछिल्लो समय भजनस्थलमा स्वास्थ्य सेवाको व्यवस्थासमेत गर्न थालिएको छ।
संयोजक न्यौपानेका अनुसार अभियानको उद्देश्य धार्मिक कार्यक्रम आयोजना गर्नुमात्र नभई युवालाई मानसिक तनावबाट मुक्त गराउने, ध्यान केन्द्रित गर्न सहयोग गर्ने र सकारात्मक सोचको विकास गर्नु पनि हो।
“पहिला बुबाआमाले मात्रै गाउने भजनप्रति अहिले युवाको आकर्षण बढेको छ,” उनले भने, “यसले युवामा सकारात्मक ऊर्जा जगाएको छ।”
अभियान विस्तारसँगै सहभागी युवालाई सामाजिक उत्तरदायित्वका काममा पनि परिचालन गर्न थालिएको छ। विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सचेतना लगायतका कार्यक्रममा उनीहरूको सहभागिता बढ्दै गएको छ।
संयोजकहरूका अनुसार एमआरआर कुनै राजनीतिक दलसँग आबद्ध छैन। अभियानमा सहभागी सबै युवा स्वतन्त्र र स्वःस्फूर्त रूपमा जोडिएका छन्।
एमआरआर भजन अभियानको सुरुआत पोखराबाट भएको हो। त्यसपछि विस्तार हुँदै अहिले काठमाडौं, चितवन, बुटवल, हेटौँडासहित करिब २० जिल्लामा अभियान सञ्चालन भइरहेको छ।
सामाजिक सञ्जालबाट सुरु भएको एउटा सानो पहल अहिले हजारौँ युवालाई मन्दिर, सङ्गीत, आध्यात्मिकता र समाजसेवासँग जोड्ने अभियान बनेको छ। परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागितामा सीमित मानिएको भजन संस्कृतिमा युवाको बढ्दो उपस्थितिले धार्मिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
प्रकाशित समय : १६:४६ बजे



















