गृहपृष्ठ राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली निर्देशिकामा संशोधन
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली निर्देशिकामा संशोधन
काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामार्फत विद्युतीय वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने व्यवस्था गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।
संशोधित व्यवस्थाअनुसार सबै भुक्तानी सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्नेछ।
यस्तै, राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
विदेशमा बसोबास गर्ने नेपाली नागरिकले भने हाल कायम व्यवस्थाअनुसार विदेशबाटै आवश्यक कागजातका आधारमा अनलाइनमार्फत विद्युतीय वालेट खोल्न सक्नेछन्। उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
संशोधित निर्देशिकाले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा भने राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरेको छ।
प्रकाशित समय : ०८:२३ बजे



















