गृहपृष्ठ विद्युत् व्यापारमा नेपालको छलाङ, एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद बचत
विद्युत् व्यापारमा नेपालको छलाङ, एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद बचत
काठमाडौं । नेपालले सीमापार विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गरेको छ। भारत र बंगलादेशसँगको विद्युत् कारोबारबाट आर्थिक वर्ष २०८२/८३ मा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा नेपालले भारत र बंगलादेशतर्फ तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ। यसबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षमा नेपालले दुई अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षमै निर्यात परिमाण ६२.८९ प्रतिशत बढेको छ भने आम्दानी झन्डै १२ अर्ब रुपैयाँले वृद्धि भएको छ। भारतीय ऊर्जा विनिमय बजार र बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
विद्युत् आयाततर्फ भने नेपालले उल्लेख्य कटौती गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो।
आयातमा भएको खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। यसअनुसार आयात खर्च १८.२९ प्रतिशतले घटेको देखिन्छ।
निर्यातबाट प्राप्त आम्दानीमा उल्लेख्य वृद्धि र आयात खर्चमा आएको कमीका कारण नेपालले विद्युत् व्यापारमा हालसम्मकै उच्च खुद बचत हासिल गरेको हो। समीक्षा वर्षमा निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँबाट आयात खर्च कटाउँदा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार जलविद्युत् उत्पादनमा भएको वृद्धि, अन्तरदेशीय प्रसारण पूर्वाधारको विस्तार, भारतको विद्युत् बजारमा बढ्दो पहुँच, बंगलादेशसँग सुरु भएको विद्युत् व्यापार तथा माग–आपूर्ति व्यवस्थापनमा आएको सुधारले नेपालको विद्युत् व्यापारलाई नाफामुखी बनाएको हो।
वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्लाई बाह्य बजारमा बिक्री गर्न सफल भएपछि ऊर्जा क्षेत्र आन्तरिक आपूर्तिमा मात्र सीमित नरही विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको संकेत यस तथ्यांकले दिएको छ। आगामी वर्षहरूमा थप जलविद्युत् आयोजना सञ्चालनमा आउने र सीमापार प्रसारण संरचना विस्तार हुने क्रम जारी रहे विद्युत् निर्यात र व्यापार बचत अझै बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १०:११ बजे



















