काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बफर कोटाबाट मधेसमा रासायनिक मल वितरण, अभाव हट्ने अपेक्षा

975
shares

जनकपुरधाम । धान रोपाइँको व्यस्त समयमा रासायनिक मलको अभाव झेलिरहेका किसानलाई राहत दिने उद्देश्यले मधेस प्रदेश सरकारले छुट्याएको ‘बफर’ कोटाअन्तर्गतको मल वितरण सुरु गरिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम कार्यालयले स्थानीय तहको सिफारिसका आधारमा धनुषाका किसानलाई युरिया र डिएपी मल उपलब्ध गराउन थालेको हो। प्रदेश सरकारको असार ३१ गतेको निर्णयअनुसार प्रत्येक स्थानीय तहका लागि छुट्याइएको बफर कोटाबाट मल बिक्री–वितरण अघि बढाइएको कम्पनीका सूचना अधिकारी बेचन साहले बताए।

उनका अनुसार वितरण सुरु भएपछि केही सातादेखि देखिएको डिएपी मलको अभाव क्रमशः कम हुँदै गएको छ। साउनको दोस्रो साताभित्र थप युरिया र डिएपी मल आइपुग्ने तयारी रहेकाले जिल्लामा मलको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको उनले बताए।

कम्पनीका तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा धनुषाका किसानलाई कुल १८ हजार ७४५.१ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ। यसमध्ये ११ हजार २४१.३५ मेट्रिक टन युरिया, ६ हजार ९६३.३ मेट्रिक टन डिएपी, ३७९.५५ मेट्रिक टन पोटास र १६०.९ मेट्रिक टन कृषि चुन किसानसम्म पुगेको साहले बताए।

सोही अवधिमा कार्यालयले १० हजार ६१८.५ मेट्रिक टन युरिया, ७ हजार २८९ मेट्रिक टन डिएपी, ४६३ मेट्रिक टन पोटास तथा २३५ मेट्रिक टन कृषि चुन प्राप्त गरेको थियो। प्राप्त मलमध्ये अधिकांश किसानलाई वितरण गरिसकिएको कार्यालयको भनाइ छ।

कार्यालय प्रमुख ध्रुव चौधरीले धान रोपाइँलाई असर नपर्ने गरी मल आपूर्ति र मौज्दात व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए। किसानको मागअनुसार थप मल उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र नयाँ खेप केही दिनमै आइपुग्ने उनले जानकारी दिए।