गृहपृष्ठ हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएको छन् । उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताएको छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको मनिलामा जारी बैठकका क्रममा सम्बोधन गर्दै रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क असुल्ने र अस्वीकार गर्ने जहाजमाथि आक्रमण गर्ने अधिकार नपाउने स्पष्ट पारे । उनका अनुसार त्यस्तो अभ्यास स्वीकार गरिए अन्तर्राष्ट्रिय समुद्री कानून र स्वतन्त्र जलयात्राको आधारभूत सिद्धान्त कमजोर हुनेछ ।
उनले इरानले हर्मुज जलघाँटी हुँदै हुने आवागमन नियन्त्रण गर्ने अधिकार दाबी गरिरहेको भए पनि विद्यमान कुनै पनि अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाले त्यसलाई मान्यता नदिएको बताए । जलयात्राको स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएकाले त्यसमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।
रुबियोको अभिव्यक्ति अमेरिकी सेन्ट्रल कमान्डले इरानको सैन्य पूर्वाधारमाथि लगातार एघारौँ रातसम्म आक्रमण जारी राखेको जानकारी सार्वजनिक गरेलगत्तै आएको हो । अमेरिकी सेनाका अनुसार ती आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउनु हो ।
उनको टिप्पणी दक्षिण चीन सागरमा चीन र आसियानका केही सदस्य राष्ट्रबीच जारी समुद्री विवादको सन्दर्भमा पनि अर्थपूर्ण मानिएको छ । मनिलामा रुबियोको आगमनअघि नै फिलिपिन्स र चीनका जहाजबीच विवादित जलक्षेत्रमा भएको पछिल्लो झडपप्रति अमेरिकाले आलोचना जनाएको थियो ।
रुबियोले बुधबार आसियान बैठककै अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भारत, अस्ट्रेलिया र जापानसहित क्वाड समूहका साझेदार राष्ट्रका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक संवादका लागि अझै खुला रहेको बताएको छन् । तर तेहरानले वार्तालाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै उनले इरान इमानदार रूपमा वार्तामा आए अमेरिका पनि सकारात्मक र रचनात्मक छलफलका लागि तयार रहने उल्लेख गरे ।
उनले इरान वार्ताप्रति गम्भीर नभए अमेरिका र उसका सहयोगी राष्ट्रहरूको हित संरक्षणका लागि आवश्यक सबै कदम चालिने चेतावनी पनि दिए ।रासस
प्रकाशित समय : १५:५१ बजे



















