global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीका सडकको स्थलगत अनुगमनपछि नेपालगन्ज फर्किए मन्त्री लम्साल

कर्णालीका सडकको स्थलगत अनुगमनपछि नेपालगन्ज फर्किए मन्त्री लम्साल

कर्णालीका सडकको स्थलगत अनुगमनपछि नेपालगन्ज फर्किए मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका सडक तथा अन्य पूर्वाधार आयोजनाको स्थलगत अनुगमन सम्पन्न गरी नेपालगन्ज फर्किएका छन्। चार दिनसम्म कर्णालीका विभिन्न जिल्लाको भ्रमण गरेका मन्त्री लम्सालले सडक निर्माणको अवस्था, आयोजनाको प्रगति र स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकका सुझाव सङ्कलन गरेका हुन्।

गत शुक्रबार सुर्खेत पुगेपछि मन्त्री लम्सालले सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयसँग छलफल गर्दै कर्णाली राजमार्ग हुँदै दैलेख र कालीकोट पुगेका थिए। शनिबार कालीकोट खण्डको सडक तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै निर्माणमा देखिएका प्राविधिक कमजोरी सुधार गर्न र बजेट प्रभावकारी रूपमा खर्च गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

त्यसपछि मुगु हुँदै हुम्ला पुगेका उनले कर्णाली राजमार्ग, सहायक सडक, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका पूर्वाधारको स्थलगत निरीक्षण गरेका थिए। भ्रमणका क्रममा स्थानीय तह, सडक कार्यालय, निर्माण व्यवसायी, राजनीतिक दल र सर्वसाधारणसँग प्रत्यक्ष छलफल गरी विकासका समस्या, आवश्यकता र सुझाव सङ्कलन गरिएको जनाइएको छ।

सांसद रमेश सापकोटाका अनुसार कर्णालीजस्तो दुर्गम क्षेत्रमा मन्त्री स्वयंले सवारी चलाएर स्थलगत अनुगमन गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गरेको यो पहिलो पटक हो। उनले अनुगमनका क्रममा नागरिकलाई सरकारले कर्णालीको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे सुझाव माग्दै सबै सुझाव टिपोट गरेका थिए।

स्थानीयले दुई लेनको कर्णाली राजमार्ग स्तरोन्नति, सबै जिल्लामा सडक सञ्जाल विस्तार, पुल, खानेपानी, सञ्चार, सिँचाइ तथा विद्यालयजस्ता आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

मन्त्री लम्सालले कर्णालीका पूर्वाधारको वास्तविक अवस्था प्रत्यक्ष रूपमा अध्ययन गरेकाले अब विकास निर्माणका कामले गति लिने अपेक्षा स्थानीयवासीले गरेका छन्।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु