सौर्य ऊर्जा र ब्याट्री स्टोरेजसहित ईभी चार्जिङ पूर्वाधार विकास गर्न दिगो–घाम पावरको साझेदारी
वि.सं.२०८३ साउन ४ सोमवार १३:१३
shares

काठमाडौं । दिगो ग्रुप र घाम पावरले इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली (Battery Energy Storage System–BESS) विकास गर्न रणनीतिक साझेदारी गरेका छन्। दुवै कम्पनीले टर्म शीटमा हस्ताक्षर गर्दै स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणमा सहकार्य गर्ने घोषणा गरेका हुन्।
साझेदारीअन्तर्गत सौर्य ऊर्जा उत्पादनलाई ब्याट्री ऊर्जा भण्डारण प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ पूर्वाधारलाई थप प्रभावकारी बनाइनेछ। यसले उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रसारण लाइनमाथिको निर्भरता घटाउँदै नवीकरणीय ऊर्जाको उपयोग बढाउने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार प्रस्तावित प्रणालीले दिनभर सौर्य ऊर्जाबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यक पर्दा ईभी चार्जिङका लागि प्रयोग गर्नेछ। यसबाट ऊर्जा आपूर्तिको विश्वसनीयता बढ्नुका साथै चार्जिङ सञ्चालनमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।
दिगोका व्यवसाय प्रमुख (एकीकृत ऊर्जा समाधान) नबिन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माणतर्फ अर्को महत्त्वपूर्ण कदम भएको बताए। सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई चार्जिङ पूर्वाधारसँग एकीकृत गरेर विद्युतीय यातायातलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने उद्देश्य रहेको उनको भनाइ छ।
घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।
दुवै कम्पनीका अनुसार यो परियोजना भविष्यमा नेपालभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित ईभी चार्जिङ केन्द्रका लागि नमुना परियोजना बन्ने अपेक्षा गरिएको छ। स्थानीय रूपमा उत्पादन हुने सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउने, विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च कम गर्ने तथा ईभी प्रयोगकर्तालाई निरन्तर चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
दिगोले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानका क्षेत्रमा काम गर्दै आएको छ भने घाम पावरले सौर्य ऊर्जामा आधारित समाधानमार्फत स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै आएको छ। दुवै कम्पनीले ऊर्जा र विद्युतीय यातायातलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अघि बढाउने तथा नेट जिरो उत्सर्जन लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

























