गृहपृष्ठ उत्पादनका आधारमा बेनीका ११६ किसानलाई २५ लाखभन्दा बढी अनुदान
उत्पादनका आधारमा बेनीका ११६ किसानलाई २५ लाखभन्दा बढी अनुदान
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती तथा पशुपालन गर्ने किसानलाई उत्पादनका आधारमा २५ लाख ६९ हजार ९८३ अनुदान वितरण गरेको छ।
नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रमअन्तर्गत ११६ जना किसान लाभान्वित भएका छन्। तीमध्ये ५९ जना तरकारी किसानलाई १३ लाख ४९ हजार ९८३ तथा ५७ जना बाख्रा र गाईभैँसीपालक किसानलाई १२ लाख २० हजार अनुदान उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।
उत्पादनमा आधारित अनुदानका लागि दूधमा १५ लाख, तरकारीमा रु १० लाख र मासु उत्पादनमा रु ७ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो। पशु सेवा शाखामा परेका ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट गरिएको थियो। छनोट भएका किसानलाई रु १३ हजारदेखि रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा. सुदीप पौडेलले जनाए।
तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकोमा ५९ जना किसान तथा कृषक समूह छनोट भएका थिए। काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले जानकारी दिइन्।
बेनी नगरपालिका–१ रत्नेचौरका किसान निरबहादुर थापाले उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक किसान नै लाभान्वित हुने बताए। थोरै रकम भए पनि यसले मेहनती किसानलाई प्रत्यक्ष प्रोत्साहन मिलेको र साना किसानमा व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको उनको भनाइ छ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि गाईभैँसी तथा बाख्रापालक किसानका लागि सञ्चालन गर्दै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी भएपछि यस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्ने किसानलाई पनि समेटिएको जनाएको छ।
नगर प्रमुख सुरत केसीले दूध, मासु र तरकारी उत्पादन वृद्धि गर्दै स्थानीय तहलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादनपछि नगद प्रोत्साहन दिने नीति प्रभावकारी बन्दै गएको उल्लेख गरे। साना तथा मझौला किसानलाई समेत समेट्ने गरी कार्यविधि तयार गरिएको र कार्यक्रमले उत्पादन वृद्धि गर्न सकारात्मक प्रभाव पारेको उनले बताए।
कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ। वर्गअनुसार रु १५ हजारदेखि रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइने व्यवस्था छ। यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान राखिएको छ।
उपप्रमुख ज्योती लामिछानेले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले पशुपालक तथा कृषकलाई व्यावसायिक बनाउन र कृषि पेशामा टिकाइराख्न महत्त्वपूर्ण सहयोग पुगेको बताइन्।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बेनी नगरपालिकाले वडा नम्बर–४ सिंगामा चिस्यान गृह सञ्चालन गरिसकेको छ भने वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी पनि अघि बढाएको छ
प्रकाशित समय : ०७:५७ बजे



















