global ime bank Long Banner Ad

गृहपृष्ठ निर्धारित समयअघि नै रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न

निर्धारित समयअघि नै रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न

निर्धारित समयअघि नै रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न

फिक्कल (इलाम), असार ३२। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकालाई पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बासँग जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ।

सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको रु ३० करोड ६४ लाख ८४ हजार लागतमा पुल निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए।

रु ३३ करोड ९८ लाख २२ हजार ५८९ को लागत अनुमानसहित ठेक्का आह्वान गरिएको भए पनि निर्माण कम्पनीले रु ३० करोड ६४ लाख ८४ हजार मा सम्झौता गरी निर्धारित समयअघि नै निर्माण सम्पन्न गरेको हो।

आयोजना प्रमुख मगरका अनुसार, शान्ति निर्माण सेवासँग २०७९ पुस ३० गते सम्झौता भई २०८३ असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो। तर निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम पूरा गरेको उनले बताए।

उनले धेरै आयोजना पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन नसक्ने अवस्था देखिएको उल्लेख गर्दै यस आयोजना भने निर्धारित समयअघि नै सम्पन्न हुनु सकारात्मक उदाहरण भएको बताए।

पुल सेक्टरका इन्जिनियर हरि मण्डलले पुल २०० मिटर लामो र ११ मिटर चौडा रहेको जानकारी दिए। निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा आएको छ, जसले स्थानीयवासीको आवतजावतलाई सहज र सुरक्षित बनाएको छ।

यसअघि वर्षायाममा रिखुवा खोलामा बाढी आएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो। विशेषगरी बिरामी, गर्भवती महिला तथा विद्यार्थीलाई ठूलो समस्या हुने गरेको थियो।

माई नगरपालिका–६ का बुधराज योङहाङले पक्की पुल निर्माणपछि दुई स्थानीय तहका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए।

“पहिले पुल नहुँदा पानी पर्नासाथ वारिका मान्छे पारि जान र पारिका मान्छे वारि आउन निकै समस्या हुन्थ्यो,” उनले भने, “अब पुल सञ्चालनमा आएसँगै वर्षौँदेखिको समस्या सधैँका लागि अन्त्य भएको छ।”

माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले पुल निर्माणसँगै माङसेबुङ गाउँपालिकाका नागरिकलाई झापाको बिर्तामोड तथा माई नगरपालिकासँग आवतजावत गर्न सहज भएको बताए। साथै धार्मिक पर्यटकीय क्षेत्र लारुम्बा पुग्ने यात्रुका लागि पनि यो पुल महत्त्वपूर्ण पूर्वाधार बनेको उनले उल्लेख गरे।

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु