गृहपृष्ठ दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक र जर्मन संस्थाबीच साझेदारी
दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक र जर्मन संस्थाबीच साझेदारी
काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन (DSIK) सँग रणनीतिक साझेदारी गरेको छ।
बैंकका अनुसार जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित एसिया क्षेत्रीय कार्यक्रमअन्तर्गत दिगो वित्तीय प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले साझेदारी गरिएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र DSIK की एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै विस्तार गर्न दुई चरणमा कार्यक्रम सञ्चालन गरिनेछ। DSIK ले बैंकलाई इसजी (ESG) रिस्क राडार, सस्टेनेबल फाइनान्स कम्पासलगायत प्राविधिक उपकरण र परामर्श उपलब्ध गराउनेछ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले बैंकको दिगो बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्न सहयोग पुग्ने बताए। उनका अनुसार हरित वित्त, न्यून कार्बन उत्सर्जन र दिगो उद्यमशीलता प्रवर्द्धनमा पनि यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौताअन्तर्गत ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यमको सशक्तीकरण र हरित उद्यम क्षमता विकासका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने बैंकले जनाएको छ।
हाल कुमारी बैंकका देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १ हजार १ सयभन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्।
प्रकाशित समय : १६:१० बजे



















