गृहपृष्ठ बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय
बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय
टीकापुर । कैलाली जिल्लामा बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय रहेको पाइएको छ । स्थानीय टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकावासी विपद् व्यवस्थापन समितिमा रहेर बाढीजन्य विपद्को सामना गर्न क्षमता बढाउन सक्रिय छन् ।
बाढीपहिरो, डुबानलगायतका विपद्का बेला खोज तथा उद्धारका लागि सहयोग माग्नुभन्दा आफैँ जुट्नुपर्छ भनी हरेक नागरिकको भूमिका र जिम्मेवारी तोकिएको छ । टीकापुर नगरपालिका–७ का नागरिकलाई बर्खा लागेपछि बाढीजन्य विपद्को त्रासले सताउने गरेको छ ।
बाढीजन्य विपद्बाट जोगिन समुदायमा रहेको विपद् व्यवस्थापन समितिमा खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल, महिला कार्यदल, पूर्वसूचना कार्यदल बनाएर सक्रियता बढाइएको छ ।
विपद्का बेला ती कार्यदल आफैँ सक्रिय हुने र आफ्नो भूमिका निभाउने गरेका सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मी बताउछन । “समुदायले आफ्नो क्षमता विकास गर्दै गएको छ । त्यसका लागि स्थानीय सरकार र सङ्घसंस्थाले तालिम, आवश्यक सामग्री सघाएका छन्”, उनले भने “दुई वर्षअघिसम्म बाढी आउँदा पालिका आएर नागरिक उद्धार गर्नुपथ्र्यो । अहिले समुदायकै सक्रियतामा अत्यावश्यक सामग्रीसहित नागरिक, खाद्यान्न, वस्तुभाउ सबै उच्च घरमा सारिसक्छौँ ।”
बर्खामा अत्यधिक गर्मी तथा जाडोमा शीतलहरले सताउने हुँदा त्यहाँका नागरिक बहुप्रकोपको जोखिमको सामना गर्न बाध्य छन् । विगतका वर्षमा वर्षातमा कटान र डुबानको समस्या रहेकामा स्थानीयको पहलमा नदीमा तटबन्ध बनेपछि कटान रोकिए तापनि डुबानको समस्याले भने उस्तै सताउने रहेको अध्यक्ष रेग्मीको भनाइ छ । समुदायको क्षमता विकासका लागि पालिकासँगको सहकार्यमा प्राक्टिकल एक्सन र बी गु्रपलगायतका सङ्घसंस्थाले सघाइरहेका छन् ।
सामुदायिक विपद् व्यवस्थापन समिति वैदीका सचिव भोजराज ढुङ्गानाका अनुसार वर्षात्का समयमा स्थानीय मोहना, पथरैया, काढा, कन्द्रा र कर्णाली नदी कयौँ गाउँबस्तीमा पसेर डुबान गर्दै आएको छ ।
पछिल्लो समय बाढीजन्य विपद्बाट जोगिन समुदायको सक्रियता बढ्दै गएपछि त्यसबाट जोगिन पूर्वसूचनाले सहज भएको छ । “मौसमसम्बन्धी सूचना नियमित सुन्ने र हेर्ने गरेका छौँ, सूचनाका आधारमा समुदाय सचेत हुन्छ”, उनि भन्छन, “समुदायमा सूचना संयन्त्र बनाइएको छ । माइकिङ गर्ने, साइरन बजाउने, झण्डा देखाउने र मोबाइलमा म्यासेज गर्दा एकैपटक जोखिममा रहेका सबैका घरमा सूचना पुग्छ ।”
सामुदायिक विपद् व्यवस्थापन समिति वैदीका कोषाध्यक्ष वासुदेव कोइराला समुदायसँग विपद्बाट जोगिन आवश्यक सामग्री रहेकाले सहज भएको बताउछन । “समुदायमा मासिक रूपमा बैठक हुन्छ, मौसमअनुसारका विपद्बारे छलफल हुन्छ । विपद्का सम्बन्धमा खडा गरिएको कोषमा रकमसमेत जम्मा गरिएको छ”, उनि भन्छन, “विपद्मा परी समस्यामा रहेका परिवारलाई त्यही कोषबाट राहत दिन्छौँ । सकेसम्म पालिकालाई गुहार्दैनौँ । सानोतिनो समस्या समुदायमै समाधान गरिन्छ ।”
समुदायस्तरीय पूर्वसूचना कार्यदलका संयोजक सुशीला बस्नेतका अनुसार बर्खा लाग्नुअघि समुदायकै सक्रियतामा जेठ २२ गते विपद् सम्बन्धमा कृत्रिम घटना अभ्यास गरियो । “हामी बर्खाभरि स्वयंसेवकका रूपमा खटेका हुन्छौँ, विपद्का बेला सूचना र तथ्याङ्क महֿत्त्वपूर्ण हुन्छ”, उनि भन्छन “हामीले समुदाय जोगाउन सूचनामा बढी ध्यान दिन्छौँ । जोखिममा रहेका गर्भवती, सुत्केरी, अपाङ्गता र ज्येष्ठ नागरिकको परिवारको तथ्याङ्कका आधारमा उद्धार गरिन्छ ।”
टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बाढीजन्य विपद्का बेला महामारी फैलन नदिन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिएर स्वास्थ्यकर्मीले सेवा दिने गरेको बताए । “यसपटक त हामीले पालिकाका सबै स्वास्थ्यकर्मीलाई समेत विपद्मा महामारी फैलनसक्ने जोखिम हुने भएकाले विपद् व्यवस्थापनसम्बन्धी तालिम दिएका छौँ”, उनि भन्छन, “जोखिमका बेला आफ्नो सुरक्षा र समुदायको सुरक्षामा कसरी ध्यान दिने भनी सिकाइएको छ ।”
टीकापुर–७ मा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार विपद्मा बस्नका लागि बनाइएका चारवटा भवन छन् । पूर्वसूचना प्रणालीलाई सक्रिय बनाएकाले बाढीजन्य विपदको जोखिम कम गर्न सहयोग पुगेको बताछन । “समुदाय सचेत बन्दै गएकाले पालिकालाई धेरै सहज भएको छ”, उनि भन्छन, “हामीले विगतमा राहतमा धेरै खर्च गर्नुपर्ने समस्या थियो । समुदायमा क्षमता विकास तालिम, उद्धारका लागि जनशक्ति र आवश्यक सामग्री जुटाएपछि खर्च पनि न्यून हुँदै गएको छ ।”
पालिकाले पूर्वतयारी र पूर्वअभ्यासमा लगानी बढाएपछि बाढीजन्य विपद्का कारण हुने धनजनको क्षति कम हुँदै गएको छ ।
प्रकाशित समय : ११:५७ बजे



















