global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी ।मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको आजको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सुरु भएको हो ।

मुख्यमन्त्री आचार्यले बजेट विनियोजनका क्रममा छुटेका तथा अपुग भएका योजनालाई विभिन्न माध्यमबाट सम्बोधन गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महत्वपूर्ण आयोजनामा आवश्यक बजेट थप गर्ने, क्रमागत योजनामा रकमान्तरमार्फत स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक आयोजनालाई बहुवर्षीय योजनामा समावेश गरेर कार्यान्वयन गरिने उनले बताए ।

“महत्वपूर्ण आयोजनामा बजेटको कमी भए ती आयोजनालाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु”, उनले भने । निर्वाचन क्षेत्रका आधारमा कतै योजना कम वा बढी परेको भए त्यसलाई पनि विभिन्न माध्यमबाट सन्तुलन मिलाइने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले अन्य प्रदेशहरूले समेत यही अभ्यास अपनाएको बताए ।

प्रतिपक्षी दलले उठाएका चासो र चिन्ता सरकारका लागि पनि साझा विषय भएको उल्लेख गर्दै उहाँले सरकारले सदनमा व्यक्त गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाए । सरकार कुनै पनि विषयलाई नजरअन्दाज गरेर अघि नबढ्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पताल तथा प्रदेश गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्राविधिक विश्वविद्यालय स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी दिँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालका लागि दुई अर्ब बजेट छुट्याइएको बताए ।

रामपुर–कपुरकोट सडक आयोजनाको काम बहुवर्षीय ठेक्कामार्फत अघि बढिरहेको उल्लेख गर्दै उनले बाँकी खण्डको कामलाई पनि सरकारले निरन्तरता दिएको बताए । प्रदेश गौरवका सबै आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले स्पष्ट पारे।

प्रतिपक्षी सांसदहरूले उठाएका सुझाव र ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सदनमा व्यक्त गरिएका सबै प्रतिबद्धता कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु